२१ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उनीहरुबीच उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ । यसअघि अमेरिका र उत्तर कोरियाबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ ।

यसैका कारण उत्तर कोरियासँगको वार्ता अवरुद्ध भएको र राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियामा झन बढी समस्या देखिएको बताएका थिए । शनिबार बिहान भएको फोनवार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ । यस विषयमा उनीहरु सहमत पनि भएको प्राप्त समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले भनेका छन्, ‘वार्ता कोरियाली प्रायद्धीपको वर्तमान अवस्थाका बारेमा थियो र त्यहाँको पछिल्लो अवस्था डरलाग्दो हुदै गएकोले यसका लागि उत्तर कोरियासँग वार्ता गर्नुपर्नेमा उनीहरु सहमत भएको बताइएको छ ।’

प्रवक्ता जुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली राष्ट्रपति इनलाई फोन गरेको जानकारी दिए । टेलिफोन वार्तापछि उत्तर कोरियाका कारण कोरियाली प्रायद्धीपको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोले उत्तर कोरियाको आणविक निशस्त्रीकरणसम्बन्धी प्रतिबद्धताको निरन्तरताका लागि पनि वार्ता गर्नु आवश्यक भएको उनले बताए ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले हिजो मात्र बताएको थियो ।दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणा राखेका थिए ।