१३ चैत, काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि उपलब्ध गराएको रिचार्जमा शतप्रतिशत बोनस दुई दिनलाई मात्र लागू हुने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले ५० र १०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गरी रिचार्च गर्दा बोनस आएको रकम २ दिनसम्म सक्नुपर्ने जनाएको छ । बोनस रकम दुई दिनमा नसकेमा रकम आफैँ रद्द हुनेछ ।

सम्बन्धित समाचारः अब जत्तिको रिचार्ज, उत्तिनै बोनस

यस्तै २ सय र ५ सयको रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम ४ दिनमा र १ हजारको रिचार्ज गर्दा प्राप्त हुने १ हजार रुपैयाँ बोनस ६ दिनभित्रमा सकिसक्नुपर्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार बोनस आएको रकम नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन र डाटा प्रयोग गर्न सकिनेछ । यद्यपि बोनस रकमबाट कुनैपनि डाटा वा भ्वाइस प्याक किन्न र ब्यालेन्स ट्रान्सफर गर्न पाइनेछैन ।

यद्यपि डिजिटल तरिकाबाट रिचार्ज गरेको हकमा भने यसको नियम छुट्टै बनाइएको छ । विद्युतीय रिचार्ज गर्दा भने १० देखि ९९ रुपैयाँसम्मको रिचार्जको बोनस २ दिन, १०० देखि ४९९ सम्मको रिचार्जको बोनस ४ दिन, ५०० देखि ९९९ सम्मको रिचार्जको बोनस ८ दिन र १ हजारभन्दा माथिको रिचार्जको बोनस १० दिनसम्म प्रयोग गर्नपाउने व्यवस्था गरिएको प्रवक्ता जोशीले बताए ।

मंलबार नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएसँगै नेपाल टेलिकमले बुधबार रातिदेखि उक्त सेवा दिन थालेको हो । टेलिकमका अनुसार यसरी दिइने रिचार्ज बराबरकै बोनस चैत १३ देखि ७ दिनसम्म दिइने छ । त्यसपछि भने रिचार्ज गर्दा नियमित अनुसार नै हुने टेलिकमले जनाएको छ ।