१० फागुन, बाँके । नेपालगञ्जमा ट्र्याक्टरको ठक्करबाट आज अपराह्न एक वृद्धको मृत्यु भएको छ ।

लु ३ त ५४३२ नम्बरको ट्र्याक्टरले नेपालगञ्ज उपमहानगरपालिका–११ मा सडकमा हिँड्दै गरेका पैदलयात्री ९० वर्षीय साजिर जसगढलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।

उनका अनुसार ट्र्याक्टरको ठक्करबाट घाइते जसगढलाई उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ठक्कर दिने चालक र ट्र्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा ट्राफिक व्यवस्था अव्यवस्थित हुँदै जाँदा सडक दुर्घटना बढ्दै गएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर नगरभित्र यातायात व्यवस्था सुदृढ गर्न लागिएको बताए । रासस