६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र संघीय समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईबीच ट्वीटरमा सवाल–जवाफमा उत्रिएका छन् । बिहीबार डाक्टर भट्टराई, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र संघीय समाजवादी नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरसँग होटलमा भेट गरेपछि कमल थापाले लम्पसारवादको नमूना देखाएको भन्दै ट्वीट गरेका थिए । उनले तीन नेताले कुटनीतिक मर्यादा र स्वाभिमानको उपेक्षा गरेको आरोप समेत लगाएका थिए । र उनले अन्तिममा लेखेका थिए, ‘दिस इज टु मच ।’

राप्रपा अध्यक्षको यस्तो ट्वीटपछि संघीय समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि कडा थापाको ट्वीटलाई रिट्वीट गर्दै कडा जवाफ फर्काएका छन् । उनले सिसाको घरमा बस्नेले अर्काको झोपडीमा ढुङ्गा हान्नुहुँदैन भन्ने लोकोक्ति सम्झन अध्यक्ष थापालाई अनुरोध गरेका छन् । उनी लेख्छन्, ‘सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं ।’

त्यसलगत्तै राप्रपा अध्यक्ष थापाले डाक्टर भट्राईको रिट्वीटको रिप्लाईमा खुला मित्रतापूर्ण सम्बन्धबारेको धारणामा सहमति जनाउँदै पूर्व प्रधानमन्त्रीले विदेशी मन्त्रीलाई होटलमा औपचारिकरुपमा भेटेको अलि सुहाएन की भन्दै प्रश्न गरेका छन् । उनले ट्वीटले लेखेका छन्, ‘मित्रतापूर्ण सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामो समय कायम आत्मसमर्पण अन्त्य होस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेटको अलि सुहाएन की ?’

भारतीय विदेशमन्त्री बुधबार नेपाल आएका थिए । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संघीय समाजवादी दलका नेताद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, राजपा नेपालका नेताहरुसँग छुट्टाटुट्टै भेट गरेका थिए । जयशंकरले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भने भेट्न पाएनन् । जयशंकर प्रचण्डनिवास गएनन् भने अध्यक्ष प्रचण्ड पनि भारतीय विदेशमन्त्री जयशंकर बसेको होटलमा गएनन् ।