२५ असोज, काठमाडौं । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकरुपमा अघि नबढेको गुनासो गरेका छन् ।

सिंहदरबारमा आज बसेको व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री देवले विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको बताएका हुन् । मन्त्री देवले विमानस्थलको काम अघि बढाउन मन्त्रालयले सरोकारवाला पक्षसँग गम्भीररुपमा वार्ता गरिरहेको जानकारी दिए ।

मन्त्री देवले चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएसम्म विमानस्थल निर्माणको काम अघि बढ्न नसक्ने उल्लेख गरे । हाल विमानस्थलमा ८० जना कामदार रहेको भन्दै उनले कामदारको संख्या बढाउन दुवै कम्पनीलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका कारण निर्माण कार्यमा ढिलाई भएको आशंका गरेका थिए ।

बैठकमा आयोजना प्रमुख ओम शर्माले चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाई भईरहेको जानकारी गराएका थिए । छलफलपछि समितिले विमानस्थलको कामलाई अविलम्ब सुचारु गर्न र ठेकेदार कम्पनीका माग सम्बोधन गर्न निर्देशन दिएको छ ।