८ कात्तिक, बैतडी । सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनीहरुलाई लागेको आरोप प्रमाणित भएमा कानूनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

यसअघि डोजर चालक किशोर बोहरालाई मङ्गलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीयवासी गौरी जोशीलाई हुत्याएको थियो । डोजरले हुत्याउँदा घाइते भएकी गौरी कोहलपुरमा उपचारपछि ‘डिस्चार्ज’ हुनुभएको छ । चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबर्जस्ती गर्दा घटना भएको जग्गाधनी पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जग्गाधनी पक्षले पहिला ढुङ्गामुढा गरेको आरोप लगाएको छ । दुई पक्षबीच झडप हुँदा गौरीसहित आठ जना घाइते भएका थिए ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले छानबिन टोलीसमेत गठन गरेको थियो । मङ्गलबार गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ । समितिले बुधबार स्थलगत अध्ययनसमेत गरेको थियो ।रासस