१८ चैत, त्रिपुराकोट (डोल्पा) । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पु-याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ ।

जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।

अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए । यस सडकखण्डको निर्माण कार्य छिटो र गुणस्तरीय बनाउन दुईवटा डोजर लगाई काम सञ्चालन गरिएको छ ।

सडक निर्माण कार्यदल प्रमुख पहाडीका अनुसार जिल्लाको त्रिवेणी, खदाङ, चुँगाडलगायत स्थानमा निर्माण आधार खडा गरेर सेनाले कामलाई थप सशक्त बनाइरहेको छ ।

अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्यका साथ सेनाले निर्माण कार्यलाई तीव्र पारेको छ । आउँदो बैशाखभित्र नै करोपगाडसम्म सडक निर्माणको काम पूरा गरेर यातायात सञ्चालनमा ल्याउने सेनाको दाबी छ । करोपगाड—खदाङ सडकखण्डको निर्माण कार्य पनि तीव्र पारिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतको खदाङसम्म आउँदो दसैँअगाडि नै सडक जोडेर यातायात सञ्चालनमा ल्याउने सेनाको लक्ष्य रहेको छ । खदाङसम्म मात्रै भएपनि सडक जोडिएपछि डोल्पालीलाई ठूलो राहत हुने खदाङका स्थानीयवासी मोतीप्रसाद उपाध्यायले बताए ।

सेनाले यही गतिमा काम गर्ने हो भने अबको एक वर्षभित्रै सदरमुकाम दुनैसम्म सडक जोड्न सफल हुने उपाध्यायले विश्वास व्यक्त गरे । सडक यातायातको अभावमा सङ्घर्षपूर्ण जीवन व्यतित गर्दै आएका डोल्पाली जनताको मोटर चढ्ने सपना छिट्टै पूरा हुने भन्दै सर्वसाधारणमा खुसियाली छाएको छ ।

गत साउनमा रुकुम—डोल्पाको सीमावर्ती क्षेत्र त्रिवेणीबजारसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पालीलाई दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि लिएर विभिन्न कामकाजका लागि जिल्लाबाहिर जानलाई समेत सहज भएको छ । रासस