२० कात्तिक, काठमाडौं । नेपाली काँग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाए पछि सो क्षेत्र अहिले चर्चामा रहेको छ ।

 

भक्तपुरवासीले उनको मनोनयनलाई जिल्लाको प्रतिष्ठाका रुपमा लिएका छन् । प्रतिनिधिसभाका पूर्व सदस्य रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, काँग्रेसका पार्टी जिल्ला सभापति दुर्लभ थापा, पूर्वनगरप्रमुख मदन कृष्ण श्रेष्ठले उनको उम्मेदवारीबाट भक्तपुर जिल्लाको प्रतिष्ठा बढेको बताए ।

ढुंगानाले मनोनयनपश्चात् काँग्रेसका पुराना नेता एवं कार्यकर्तासँग भेटघाट गर्न थालेका छन । उनी आफू भक्तपुरवासी भएको दाबी गर्छन् ।

सरकार माओवादीबीचको पहिलो वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका काँग्रेस नेता ढुंगानासँग सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । मानवअधिकार क्षेत्रमा समेत परिचित नेता ढुंगानाले मनोनयन गरेपछि अन्तर्राष्ट्रिय छविसमेत बनाइसकेको राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार पाउनु भक्तपुरवासीले गौरवको विषय बनाएका छन् ।

प्रजातन्त्रमा पूर्ण विश्वास राख्ने नेता ढुंगानाले स्थानीय समाजसेवी, पुराना कार्यकर्तासँगको भेटपश्चात् आयोजित छलफलमा आफू विधिको शासनमा विश्वास राख्ने बताए ।

उनले नेतालाई झूठो नबोल्न र जनतालाई झूठो आश्वासन नदिनसमेत आग्रह गरे । पहिलो प्रतिनिधिसभा निर्वाचन २०४८ मा काठमाडौँबाट निर्वाचित भई सभामुख रहेका ढुंगानाले २०५१ को निर्वाचनमा पराजय व्यहोर्नुपरेको थियो ।

भक्तपुर २ नं क्षेत्रमा ढुंगानाले वामगठबन्धनका उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । बस्नेत पूर्वउद्योगमन्त्री हुन् । नेपाली काँग्रेसले सो क्षेत्रको प्रदेशसभा निर्वाचनमा युवा नेताद्वय प्रदेश सभामा १ मा अंगत खड्का र २ मा गणेशमान चक्रधरलाई मनोनयन गरेको छ ।

त्यसैगरी एमालेले प्रदेश सभामा १ मा शशिजंग थापा र २ मा राजेन्द्रमान श्रेष्ठलाई मनोनयन गरेको छ भने नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाललाई र प्रदेशसभा सदस्य १ मा सरोजराज गोसाईं र २ मा प्रेमजन थापालाई मनोनयन गरेको छ । रासस