मोटोपनले अप्ठ्यारो बनायो? अहिलेको अहिल्यै मोटोपन घटाइहाल्न त सकिन्न तर केही यस्ता उपाय छन् जसले तपाइलाई स्लिम देखाउँछ। यी उपायले शरीरको तौल वा साच्चै मोटोपनमा कुनै कमी भने ल्याउँदैन।

पोस्चर

हिड्दा वा बस्दा शरीरको अवस्था कस्तो हुन्छ याद गर्नुस्। यदि कुप्रेर बस्नुहुन्छ वा हिड्दा पनि शरीर सिधा भएको छैन भने तपाइ फिट देखिनुहुन्न। मेरुडण्ड सिधा नराख्दा शारीरिक मात्र होइन मानसिक रोगको पनि शिकार भइन्छ। सिधा बनेर हिड्नुस, तपाइ पहिले भन्दा फिट देखिनुहुन्छ।

भित्री वस्त्र

विशेष गरी महिलाको लागि भित्री वस्त्र, ब्रा, कोरसेट आदी शरीरसंग फिट हुनुपर्दछ। यसले शरीरको आकृति सिधा र स्लिम बनाउन मद्धत गर्छ।

गाढा रंगको लुगा

कालो, खैरो, वैजनी आदी गाढा रंगको लुगाले स्लिम देखाउँछ। अझ माथी र तल एउटै रंगको लुगा, सकेसम्म गाढा रंगको लगाएर हेर्नुस् तपाइ पहिले भन्दा स्लिम देखिनुहुन्छ।

पानी बढी पिउनुस्

जति बढी पानी पिउनुहुन्छ, शरीरले त्यति नै पानी पिसाबबाट फाल्छ। पानी कम पिउँदा शरीरले पानी भित्र राखिराख्न खोज्छ। पानी बढी पिएको दिन तपाइ अरु दिन भन्दा स्लिम देखिनुहुन्छ।

ठिक साइजका कपडा

तपाइको शरीरको आकार अनुसारको कपडा लगाउनुस्। शरीरभन्दा ठुलो वा सानो दुवैले तपाइलाइ मोटो देखाउँछ।