२३ फागुन, एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा सन् २००४ मा तीन जना प्रहरी अधिकृतको हत्यामा सहयोगीको भूमिका निर्वाह गरेका एक व्यक्तिलाई बिहीबार साँझ मृत्युदण्ड दिइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार एटमोर कारागारमा थुनामा रहेका अभियुक्त ४३ वर्षीय नाथानिल उड्सलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । मानव अधिकार समूहहरुले नाथानिल स्वयमले प्रहरी अधिकृतको हत्या नगरेका कारण मृत्युदण्ड दिइनु अन्यायपूर्ण भएको अन्तिमसम्म जिकिर गरेका थिए । अलाबामा राज्यमा यस वर्ष नाथानिललाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

अलाबामा राज्यका सरकारी वकीलहरुले प्रहरी अधिकृतहरुको हत्यामा नाथानिल सक्रियतापूर्वक सहभागी भएको बताएका थिए । अमेरिकी सर्वोच्च अदालतले अन्तिम पटक नाथानिलको अपिललाई स्वीकार गरे पनि मृत्युदण्डको सजाय हुनबाट रोक्न सकेन । अलाबामाका गभर्नर के आइभीले पनि माफी दिन अस्वीकार गरेका थिए ।

उड्स र अर्का व्यक्ति केरी स्पेन्सरमाथि व्यक्ति हत्याको आरोप लागेको थियो । उनीहरु दुबैलाई मृत्युदण्ड दिने गरी अदालतबाट फैसला भइसकेको छ । यी दुई व्यक्तिले सन् २००४ मा बर्मिङघाममा खटिएका तीन जना प्रहरी अधिकृतको गोली हानी हत्या गरेका थिए । लागूपदार्थ लुकाएको आशंकामा एक घरमा छापा मार्नेक्रममा प्रहरी अधिकृतहरु कार्लोस ओवेन, हार्ले चिसोल्म र चाल्र्स बेनेटको हत्या भएको थियो ।

सरकारी वकिलहरुले स्पेन्सरले प्रहरी अधिकृतहरुमाथि गोली चलाएको बताएका छन् । यस घटनामा नाथानिलले सहयोगीको भूमिका निर्वाह गरेका थिए । हत्याका मुख्य आरोपी स्पेन्सरले उड्स शतप्रतिशत निर्दोश रहेको बताएका छन् । स्पेन्सरलाई पनि मृत्युदण्डको सजाय भइसकेको छ, तर मृत्युदण्डको मिति तोकिएको छैन ।