समाधानको निमित्त समय सकिएको छैनः कोइराला,
नेपाली जनता असन्तुष्ट हुन आवश्यक छैनः ओली,
उहाँहरु आउनु हुन्छः प्रचण्ड

२ असोज, काठमाडौं।

संविधान सभामा राष्ट्रपतिद्वारा संविधान घोषणा हुने पूर्व सन्ध्यामा शनिवार अपरान्ह नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलन प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।

PM Koirala @ Press Conf-2072-6-2
सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले संविधान सभाबाट संविधान निर्माण भएर जारी हुने अवस्था विरलै आउने भएकोले समस्त नेपालीहरुलाई यस अवसरलाई पर्वको रुपमा मनाउन अनुरोध गरेका थि‍ए । उनले सबै नेपालीलाई एक ढिक्का भएर यो उत्सवमा सरिक रहन पनि आग्रह गरेका थिए । उनले अहिले देखिएका कतिपय असन्तुष्टी र समस्याहरु क्रमश समाधान हुँदै जाने विश्वास पनि प्रकट गरे । “ म त असाध्यै आशावादी छु,” प्रधानमन्त्रीले भने ,“सधै यस्तो अवस्था रहदैन ।” उनले सरकारले कहि पनि सेना प्रयोग नगरेको उल्लेख गर्दै भने,“ जहाँ जहाँ अप्रिय घट्ना भएका थिए ,त्यहा पनि स्थिति सामान्य बनिरहेको छ । कफ्र्यु हट्दै गएको छ ।”

A Shot at Press Conference

प्रधानमन्त्री कोइरालाले समस्या समाधानको निमित्त अझै पनि समय रहेको उल्लेख गर्दै संसदमा छलफल गरेर पनि कतिपय विषयको निदान गर्न सकिने बताए । उनले मुलुकमा शान्ति र अमनचयन कायम राख्न सबैबाट सहयोगको अपेक्षा समेत राखेका थिए। उनले देशका विभिन्न भागमा भएका क्रियाकलापप्रति संकेत गर्दै भने,“ हामी वार्तामा बस्छौ,छलफल गर्छौ बार्ताद्वारा समाधान नहुने कुनै समस्या नै छैन।”

सीमाना पछि मिलाउन सकिन्छः ओली

पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले संविधान सभाले पारित गरी भोली जारी हुने संविधानमा सबै नेपालीको चाहना पूरा भएको उल्लेख गरेका थिए । उनले भने,“ यो संविधानले संघीयता,गणतन्त्र, लोकतन्त्र, समावेशिता सबैलाई संस्थागत गरेको छ।”

उनले संविधानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबूत बनाउने उल्लेख गर्दै भने,“ यसले आगामी दिनमा मुलुकलाई समृद्धिको पथमा लैजाने बाटो तय गरेको छ ।” उनले भने,“ कोही पनि नेपाली जनता यसमा असन्तुष्ट हुनुपर्ने आवश्यकता छैन ।”

उनले भारतमा पछि बनेका राज्यहरुको सीमाना विस्तारै टुंगो लाग्दै गरेको उदाहरण दिदै भने,“ प्रदेशको संख्या घटबढ हुँदो रहेछ । सीमा हेरफेर हुने रहेछ । प्रदेशहरुको सीमाना आयोगले पछि मिलाउछ ।”

बाहिरिएकाहरु आउनु हुन्छः प्रचण्ड

पत्रकार सम्मेलनमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको प्रक्रियामा लामो समय साथै रहेर अन्तिम समयतिर बाहिरिनु भएका मधेश केन्द्रीत राजनीतिक दलहरु संवादको माध्यमबाट पुनः व्यवस्थापिका संसदमा फर्किने विश्वास व्यक्त गरे ।

उनले आन्दोलनरत संयुक्त मधेशी मोर्चा र थारुहट÷थारुवान संघर्ष समितिका प्रतिनिधिहरुसंग वार्ताको प्रयास र कतिपय समूहसंग वार्ता भैरहेकोले अहिले देखिएका समस्या वार्ताको माध्यमबाट समाधान हुने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा तीन राजनीतिक दलहरुका तर्फबाट प्रकाशित वक्तव्य नेकपा एमालेका उपाध्यक्ष मा. भीम रावलले वाचन गरेका थिए । वक्तव्य यसप्रकार थियो।

संविधान घोषणा उत्सव मनाउन संयुक्त आह्वान !

२००७ सालदेखिको लामो बलिदानपूर्ण संघर्ष र कष्टसाध्य प्रयत्न पछि आफ्नो संविधान आफ्ना प्रतिनिधि मार्फत आफै बनाउन नेपाली जनताले युगान्तकारी सफलता प्राप्त गरेका छौं । यस उपलब्धिपूर्ण ऐतिहासिक क्षणमा हामीहरु देशको स्वाधीनता तथा स्वतन्त्रता र जनताको हक, अधिकारका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । लोकतान्त्रिक आन्दोलनको मोर्चामा डटेर योगदान गर्ने सम्पूर्ण जनसमुदायमा अभिनन्दन गर्दछौं र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउँदै समृद्ध नेपालको निर्माणमा कटिबद्ध रहने प्रण गर्दछौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सार्वभौम नेपाली जनताबाट निर्वाचित संविधानसभाबाट जारी भइरहँदा हामीलाई नेपाली राजनीतिका ती सबै कठीन, चुनौतिपूर्ण र उथलपुथलकारी दिनहरुको स्मरण भइरहेको छ । नेपाली जनताको साथ र समर्थनमा हामीले अनेकौं चुनौती र आरोह–अवरोहको सामना गरेका छौं । जनक्रान्ति र अग्रगामी परिवर्तनको झण्डा उठाएका छौं । भिन्न–भिन्न राजनीतिक दृष्टिकोण र पृष्ठभूमिका राजनीतिक दलहरुले एक आपसमा मिलेर संविधान निर्माण गर्नुपर्ने स्थितिमा समेत हामी नेपालको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनलाई आत्मसात् गर्दै सबै प्रकारका विभेदहरुलाई समाप्त गरी संविधान सभाबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने संविधान पारित गर्न सफल भएका छौं । अब एकताबद्ध भएर संविधानमा अभिलिखित लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नु पर्छ ।

विविधतामा एकता, सात प्रदेश सहित समानुपातिक समावेशी सिद्धान्तमा आधारित संघीय प्रणाली, शक्ति पृथकीकरण, समानुपातिक प्रतिनिधित्व सहितको मिश्रित निर्वाचन प्रणाली, समावेशी लोकतन्त्र, अधिकारसम्पन्न स्थानीय तह, जनउत्तरदायी कार्यपालिका, दुई सदनात्मक व्यवस्थापिका र स्वतन्त्र न्यायप्रणाली संविधानका विशेषता बनेका छन् । पूर्ण प्रेस स्वतन्त्रता र सनातनदेखिको धर्म संस्कृतिको संरक्षण र धार्मिक स्वतन्त्रताको प्रत्याभूति सहित धर्मनिरपेक्षताको व्यवस्था गरिएको छ । कुनैपनि नेपालीले नागरिकताबाट बञ्चित हुनु नपर्ने र आमा वा बाबुको नामबाट सहजै नागरिकता प्राप्त हुने प्रावधान रहेको छ । मौलिक हकमा जनताका सामाजिक न्याय, समानता र स्वतन्त्रता सम्बन्धी हकहरु व्यवस्थित छन् । महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिम समुदायका हक–हितका लागि आयोगहरु गठन हुने व्यवस्था छ । समावेशी आयोग र भाषा आयोगको माध्यमबाट अन्य समुदायका हक, हित र भाषा संस्कृति सम्बन्धी सरोकारको सम्बोधन हुनेछ । महिला र दलितहरुको राजनीतिक प्रतिनिधित्वका लागि विशेष प्रबन्ध गरिएको छ । राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको दिशामा राज्य निर्देशित छ । राष्ट्रिय सुरक्षा र नेपाली जनताको एकतालाई महत्व दिइएको छ । स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको छ । संघीयताको सिद्धान्त र मान्यता अनुरुप जनताको जीवन सुखी र सम्पन्न बनाउन संघ, प्रदेश र स्थानीय तहका बीच अधिकारको व्यवस्थित रुपमा बाँडफाँड गर्दै सहयोगात्मक र समन्वयात्मक संघीयता अंगिकार गरिएको छ । यसरी संविधान सभामा लामो बहस र छलफल पछि हामी सबैले गौरव गर्न सक्ने लोकतान्त्रिक संविधान बनेको छ ।

संविधान सभाबाट संविधान पारित भएको यो क्षण हामी सबैका लागि गर्वको अवसर मात्र होइन नेपाली जनताको एकता र विजयको क्षण पनि हो । संविधानका धारा र शब्दहरुमा नेपाली जनताका आकांक्षा र भावना मुखरित छन् जो विगतका संविधानका व्यवस्थाभन्दा अग्रगामी छन् । समानुपातिक समावेशी सिद्धान्त अनुरुप राजनीतिक प्रतिनिधित्वको व्यवस्थाका साथै सार्वजनिक सेवामा अन्तरिम संविधानको भावना र हुँदै आएको अभ्यास अनुरुप समानुपातिक समावेशी सिद्धान्तमा हामी कायम छौं । यसै अनुसार संविधानको सामाजिक न्यायको हकमा व्यवस्था गरिने छ । निर्वाचन क्षेत्र निर्धारणका विषयमा हाल कायम प्रशासनिक जिल्लाको भौगोलिक क्षेत्रमा कम्तिमा एक निर्वाचन क्षेत्र राखी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने व्यवस्था गरिने छ । प्रदेशको सीमाङ्कनका सन्दर्भमा देशका विभिन्न भागमा देखिएका विषयहरुमा संघीय आयोगको अध्ययन सिफारिशका आधारमा सहमति कायम गर्दै संविधानमा आवश्यक परिमार्जन गर्न हामी तत्पर छौं । कतिपय विषयहरुलाई रुपान्तरित व्यवस्थापिका–संसदबाट सम्बोधन गर्न सकिने तर्फ सबैको ध्यान आकर्षित गर्न चाहन्छौं ।

नेपालको संविधान स्वयं गतिशील दस्तावेजको रुपमा आएको छ । यस संविधानका कतिपय व्यवस्थाहरु विभिन्न राजनीतिक दलहरुका बीचको समझदारी र सम्झौताबाट प्रभावित भएको सबैलाई थाहै छ । अहिले पनि हाम्रा बीचमा कतिपय विषयमा मत–मतान्तर रहेका छन् । तर लोकतन्त्र, राष्ट्रिय हित, एकता र समृद्धिको बाटो संविधानमा दृढताका साथ अंगिकार गरिएको छ । संविधानले सुधार र परिवर्तनका लागि फराकिलो बाटो लिएकोे छ । अतः हामी भविष्यमा देश र जनताका लागि आवश्यक तथा विभिन्न समुदायका आकांक्षा र मागहरुको परिपूर्तिका निम्ति पाइला चाल्न सक्छौं । संविधानमा आवश्यक संशोधन गरी अझ परिष्कृत र सबल बनाउन सक्छौं । यस तथ्यलाई मनन गरी कुनै पनि समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ता र समझदारीले गर्न तथा संविधान घोषणाको ऐतिहासिक उत्सवमा सहभागी हुन हामी संविधान सभाबाट बाहिरिएका र संविधानसभा भन्दा बाहिर रहनु भएका सबै राजनीतिक दल तथा नेताहरुलाई हार्दिक आह्वान गर्दछौं । नेपाली जनताको चीर प्रतिक्षित आकांक्षा पूरा भइरहेको समयमा कुनै आशंका र आवेगले होइन एकताबद्ध भएर राष्ट्रको एकता, प्रगति, समृद्धि, स्वाधीनता र स्वाभिमानका लागि जुट्न हामी आग्रह गर्दछौं ।

नेपालको समग्र शान्ति प्रक्रिया तथा संविधान निर्माणमा महत्वपूर्ण सहयोग र समर्थन प्रदान गर्दै आएका छिमेकी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट संविधान सभाले जारी गरेको संविधानको स्वागत हुनेमा हामी विश्वस्त छौं । हालसम्म प्राप्त सहयोग र समर्थनका लागि छिमेकी मित्र राष्ट्रहरु तथा अन्तर्राष्ट्रिय समुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

संविधान पारित भई जारी हुनलागेको यस सुखद् अवसरमा सम्पूर्ण नेपाली जनतालाई विविध किसिमले खुशियाली, उत्सव र समारोह मनाउन हामी हार्दिक अपिल गर्दछौं । इतिहासमा एक पटक आउने यस्तो सर्वाधिक महत्वको अवसरमा खुशियाली उत्सवमा सहभागी हुन कोही कसैले पनि पछि पर्नु वा बञ्चित हुनुहुन्न भन्ने हाम्रो मान्यता छ । अतः देशव्यापी रुपमा असोज तीन गते साँझ दीपावली गर्न र चार गते जनसभा लगायतका विविधि कार्यक्रम सहित संविधान घोषणा उत्सव मनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई व्यापक रुपमा स्वागत गर्न तथा नेपालको उज्यालो भविष्यप्रति आश्वस्त हुन हामी स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली दीदीबहिनी र दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछौं ।