१३ असोज, काठमाडौं । तीन दिनदेखि लगातार घटिरहेको सुनको मूल्य सोमबार पनि घटेको छ । आइतबारको तुलनामा सोमबार सुनमा २ सय रुपैयाँ प्रतितोला घटेको हो ।

आइतबार ७० हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार ७० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य सोमबार ६९ हजार ७ सय प्रतितोला कारोबार हुँदा चाँदीमा भने ५ रुपैयाँ घट्दै ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ८ सय ४५ रुपैयाँ प्रतितोला थियो ।

यसअघि पछिल्लो तीन दिन पनि सुनको मूल्य लगातार घटिरहेको छ । गत साताको बुधबार ७२ हजार रुपैयाँ प्रतितोला कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँ घट्दै ७१ हजारमा झर्‍यो । यस्तै शुक्रबार २ सय घट्दै ७० हजार ८ सय र आइतबार ६ सय रुपैयाँ घट्दै ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । दशैँमा सुनको मूल्य यसरी घटिरहँदा सुन पसलमा उपभोक्ता आउनसक्ने व्यवसायीको आशा छ ।