३० भदौ, काठमाडौं ।
दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा घर जान अग्रिम टिकट लिनेको संख्या १२ लाख पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । चाडपर्वलाई केन्द्रित गरी २७ भदौदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । ‘देशका सबै क्षेत्रमा घर जाने यात्रुमध्ये ६० प्रतिशतले टिकट बुकिङ गरिसकेका छन्,’ उनले भने, ‘विगत वर्षभन्दा ढिलो गरी यो वर्ष टिकट बुकिङ खुला गरिएको कारण पनि सुरुमै टिकट लिएर यात्रु ढुक्क भएका छन् ।’ यो वर्ष अधिकतम २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले प्रक्षेपण गरेको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि ५ देखि ७ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

सडक बन्द हुन नदिने
उपत्यकाबाट बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिन–नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्छन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङह्लामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिन–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने, यातायात सञ्चालनको अवधि वृद्धि गर्ने र कुनै समस्या आए तत्काल खुलाउने गरी तयारी गरिएको नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

६ अनुगमन टोली, १२ नागरिक सहायता कक्ष
यातायात व्यवस्था विभागले चाडपर्वका वेला यातायात क्षेत्रलाई व्यवस्थित र सुचारु राख्न तथा ठगी हुन नदिन काठमाडौं उपत्यकामा १२ वटा नागरिक सहायता कक्ष र ६ वटा अनुगमन टोली बनाएर निगरानी गरिरहेको छ । प्रत्येक सहायता कक्षमा यातायात व्यवस्था कार्यालय, प्रहरी र उपभोक्ताकी गरी ३ जनाको टोली रहेको छ । त्यस्तै, ६ वटा अनुगमन टोलीमा २६ जना खटिएका छन् । सहायता कक्षमा सूचना र जानकारी लिन सकिन्छ भने अनुगमन टोलीले कमीकमजोरी फेला पारेमा तत्काल कारबाही गर्ने गरेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । बढी भाडा असुलेको, कन्डिसनको सवारीसाधन नचलाएको, सही सूचना नदिएको या सिट हुँदाहुँदै टिकट बन्द गरेको भए जरिवाना गर्ने थालिएको छ । यस्तो कमजोरी गरेको भटिए ५ हजार जरिवाना र रुट इजाजत खारेजी प्रक्रिया थालिएको विभागको भनाइ छ । व्यवसायीले बुकिङस्थलमा परिचयपत्र लगाएका कर्मचारी अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ ।

आइतबारदेखि घर जान सुरु
अग्रिम टिकट बुकिङ गरेकाहरू १ असोजदेखि घर जाँदै छन् । त्यसमा पनि मुख्य गरी फूलपातीको दिन ११ असोजदेखि घर जान बुकिङ गर्नेहरू धेरै छन् । यातायात व्यवसायीले यो वर्ष नयाँ यात्रुबाहक साधन नथपेका कारण पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । ‘हरेक वर्ष १ हजार २ सयसम्म नयाँ यात्रुबाहक सवारीसाधन थप हुन्थ्यो,’ महासंघका महासचिव सिटौलाले भने, ‘बैंकिङ कर्जामा कडाइ गरेका कारण नयाँ बस थप हुनेछैनन् ।’

दैनिक सात हजारसम्म सवारी
यातायात व्यवसायीका अनुसार चाडपर्वभन्दा अन्य समयमा दैनिक काठमाडौंबाट बाहिरिने भाडाका सवारीसाधनको संख्या करिब ३ हजारसम्म पुग्छ । चाडपर्वका लागि भने दैनिक ७ हजारसम्म सवारीसाधन सञ्चालन हुने उनीहरूको भनाइ छ । चाडपर्वमा उपत्यकाबाहिर चल्ने सवारीसाधनलाई पनि प्रयोगमा ल्याउने व्यवसायीको तयारी छ ।

कलंकीमा सवारी रोक्न नपाइने
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग मिलेर चाडपर्वको समयमा सबैभन्दा बढी व्यस्त हुने कलंकी चोक सडकमा सवारी रोक्न दिइएको छैन । त्यस क्षेत्रमा ट्राफिक जाम नहोस् भन्न सहायक सडक खुलाउने काम भइसकेको उनले जानकारी दिए ।

बढी रकम लिने कारबाहीमा : ट्राफिक
अग्रिम टिकट खुलेदेखि नै यो वर्ष उपत्यका ट्राफिक प्रहरी महाशाखाले स्थलगत अनुगमनलाई तीव्र बनाएको छ । महाशाखा प्रमुख सर्वेन्द्र खनाल आफैँ स्थलगत अनुगमनमा खटिइरहेका छन् ।

अनुगमन गर्दा सबभन्दा ठूलो समस्या भने बढी भाडा असुल्ने देखिएको र त्यस्तालाई तत्काल पक्राउ गर्ने गरिएको उनले जानकारी दिए । ‘कानुनविपरीत काम गर्नेलाई छिरिक्क पनि गर्न दिइएको छैन,’ उनले भने ‘दादागिरी देखाउने, छतमा मानिस चढाउने कामलाई पूर्ण रूपमा रोकिएको छ ।’