काठमाडौं, ६ बैशाख । तीन नम्बर प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्दैछ । चितवनको भरतपुरमा आयोजना हुने सम्मेलनका शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् ।

प्रदेशका विभिन्न आयोजनामा लगानी भित्र्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा लगानीका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रबारे जानकारी गराइने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले जानकारी दिए । शनिबारसम्म चल्ने सम्मेलनमा विभिन्न ८ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । विशेषगरी कृषी, पर्यटन र उद्योगका क्षेत्रमा लगानी आकर्षित गर्ने प्रदेश सरकारको तयारी छ ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हुने सम्मेलनमा पुर्वअर्थमन्त्री डा रामशरण महत तथा प्रदेशका मन्त्रीहरु, सभामुख, उपसभामुख, विभिन्न समितिका सभापति, सांसद, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा अर्थविदहरुको पनि उपस्थिति रहने बताइएको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्शका अध्यक्षलगायत विभिन्न जिल्लाका उद्योगी व्यवसायी, निजी क्षेत्रका लगानीकर्ता गरी २ सय ४० जनाको सहभागिता रहने प्रदेश नीति तथा योजना आयोगले जनाएको छ ।