पर्वत, १ मंसिर  ।  कुश्मा नगरपालिका–१४ स्थित धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा आज अपराह्न भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

पञ्चासेमा सद्बीज छर्नका लागि यात्रु लिएर गएको ध १ ख ८७ नंको बस दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको हो । बालाचतुर्दशीका अवसरमा पञ्चासेमा सत्बीज छर्न गएका तीर्थयात्री बोकेर आर्थर आउँदै गरेकोे बस अपराह्न ४ बजे रेसको पाखामा दुर्घटना भएको हो ।

पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्ज्याङमा सडकबाट १०० मि तल खसेको बसमा सवार ४० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइतेको उद्धार गरी उपचारका लागि पोखरा पठाइएको उद्धारमा संलग्न स्थानीयवासी मनोज गुुरुङले जानकारी दिए । रासस