३ पुष काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह आज सम्पन्न भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेलमैदानमा भएको दीक्षान्त समारोहमा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताए ।

उनले भविष्यमा त्रिविले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी आफूलाई ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा स्तरोन्नति गर्नुपर्ने भनाइ राखे। उनले त्रिविले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी तथा विश्वबजारमा प्रतिस्पर्धी बनाउने खालका रहेको उल्लेख गर्दै भने, “सेमेष्टर प्रणाली लागू गर्ने, विद्यार्थीले रुचाएका विषय सञ्चालन गर्ने, राष्ट्रिय आवश्यकता र अर्थतन्त्रका प्राथमिकताअनुरुपका विषय सञ्चालन गर्ने, विज्ञान तथा प्रविधिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नेलगायतका विषय तथा विधागत विधिकरण कार्य त्रिविका समयसापेक्ष रहेका छन् ।”

दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका १० हजार १८३ विद्यार्थी दीक्षित भएका थिए । शिक्षामन्त्री पोखरेलले ती विद्यार्थीलाई दीक्षित गराएका थिए । सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।

सो समारोहमा उहाँले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक/पुरस्कार प्रदान गरिएको थियो । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थिति भएपछि शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरेका थिए ।

सबै तस्विर:रासस