१६ असोज, काठमाडौं । देशका विभिन्न स्थानमा गरी एकैदिन १० जनाको शव मृत अवस्थामा भेटिएको छ । बारा, सुनसरी, महोत्तरी, ललितपुर, दोलखा र ताप्लेजुङ गरी ६ स्थानबाट १० जनाको शव बिहीबार बिहान फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

File Photo

बाराको फेटा गाउँपालिका–४ बतरा बस्ने ३५ वर्षीय जोगा मुखियाको घरमा रहेको खाली सुख्खा सेफटी ट्यांकीमा बुधबार बिहान ५ जना मृत अवस्थामा शव फेला परेका छन् । मृत फेला पर्नेहरुमा जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी बिन, १२ वर्षीया छोरी सुमनी बिन, ३० वर्षीय महेन्द्र मुखिया बिन र हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय बाबा भनि बोलाउने पुरुष रहेका छन् ।

सुनसरीको ईटहरी उपमहानगरपालिका–१२ खनार डेरा गरी बस्ने रसुवा घर भएका २४ वर्षीय राम तामाङ सुतेकै स्थानमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१० थापाटोल बस्ने बोल्न नसक्ने २२ वर्षीया शर्मिला दनुवार बिहीबार बिहान सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् ।

ललितपुरको कुसुन्ती डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ४४ वर्षीय सोम तामाङ खाना खाई सुतेकोमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । दोलखाको शैलुङ गाउँपालिका–६ फस्कु बस्ने ७० वर्षीय खड्क माया बिक घरदेखि करिब ५ सय मिटर पर खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ चौरेनी वाङगेलाम बस्ने २९ वर्षीय सुरेन्द्र तामाङ सोही गाउँपालिका–३ तालखर्कस्थित खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।