४ चैत, दाङ । तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनका अनुसार एउटा तुलसीपुरको बेलझण्डीमा उद्यान निर्माण गरी र अर्को तुलसीपुर–७ स्थित पर्यटकीयस्थल गणेशपुर उद्यानमा ती घडी राखिनेछ । ‘हामीले परम्परागत दुई वटा घडी तयार पारेका छौँ’, उनले भने, ‘ती घडीमध्ये एउटालाई बेलझुण्डी र एउटा गणेशपुर उद्यानमा राख्ने तयारी गरेका छौँ ।’

पुर्खाले सूर्यको प्रकाशअनुसार बिहान, दिउँसो पत्ता लगाउने गरेको तथा तारा र नक्षत्र हेरेर रातको घडीपला यकिन गर्ने गरेको इतिहास झल्काउन धूपघडी राख्न लागेको उपमहानगरपालिकाले जनाएको छ । ती घडीले घामको प्रकाश अनुसार कति बजेको भन्ने थाहा पाउने बताइएको छ । उपमहानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त पहलमा परम्परागत ती दुई घडी तयार पारिएका हुन् ।

ती घडीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै समय देखाउने छ । प्रकाश नभएको बेलामा घडीले काम नगर्ने नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए । ‘घडी नहुने युगमा परम्परागतरूपमा धूपको माध्यमबाट कति बज्यो, आज यस्तो भयो भनेर समय निर्धारण गर्ने गर्थे’, उनले भने, ‘त्यही कुरा अहिलेको पुस्तालाई अध्ययन गर्न यसले सहज बनाउने छ ।’ परम्परागत धूपघडीले पर्यटकलाई तान्ने अपेक्षा गरिएको छ । घडी बनाउनका लागि ती दुई निकायले रु ३२–३२ हजार लगानी गरेका छन् ।

खगोलविद् सहप्राध्यापक जयन्त आचार्यले घडी तयार पारेका हुन् । परम्परालाई जीवन्त राख्न धूपघडी ल्याइएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीले बताए । ‘पहिलेदेखि पुर्खाले प्रयोग गर्दै आएको औजार वा त्यससम्बन्धी जानकारी वर्तमान पुस्तालाई बुझाउनका लागि पनि एकदमै महत्वपूर्ण छ’, उनले भने, ‘यो घडीले प्रत्येक जिल्लामा फरक–फरक समय देखाउने छ ।’

दाङ र अन्य जिल्ला तथा स्थानमा सूर्योदयको समय फरक–फरक समयमा हुने भएकाले त्यस ठाउँको प्रकाशअनुसार समय फरक पर्ने उनले बताए । अहिले दाङमा ल्याइएको घडी गौरीशङ्कर हिमाललाई आधार मानेर बनाइएको हुँदा यहाँको स्थानीय समयलाई बताउनेसमेत उनको भनाइ छ ।

उनले घडी घाम लाग्ने ठाउँमा मात्रै राखिने बताए । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर उद्यान) मा वैशाखसम्म घडी राख्ने गरी तयारी भइरहेको उद्यानका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए । घडी हेर्नका लागि पर्यटक आउने विश्वास गरिएको छ । रासस