१८ चैत, एजेन्सी । भारतको दिल्ली राज्यको सरकारले सञ्चालन गरेको मोहल्ला क्लिनकको अर्का एक डाक्टरमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

उत्तरपूर्वी दिल्लीको बाबरपुर क्षेत्रमा कार्यरत डाक्टरमा कोरोनाभाइरस पोजेटिभ भेटिएपछि क्लिनिकमा आउने सबैलाई १५ दिनको होम क्वारेन्टाइन बसेर मात्र आउन सुझाव दिइएको छ ।डाक्टरलाई यसअघि नै कोरोनाको लक्षण भने देखिएको थियो ।

डाक्टरमा कोरोना पोजेटिभ देखिएसँगै उनको परिवारको सदस्यका साथै क्लिनिकमा कार्यरत सबै मेडिकल स्टाफलाई पनि आइसोलेसनमा राखिएको छ । यसका साथै उपचार गराउन आएका बिरामीहरुलाई पनि घरमा क्वारेन्टाइन बस्न निर्देशन दिइएको छ ।

यसअघि उत्तर पूर्वी दिल्लीको मौजपुर क्षेत्रमा सञ्चालिन मोहल्ला क्लिनिकमा डाक्टरमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । उनी दुबईबाट फर्किएकी महिलाको सम्पर्कमा आएर संक्रमित भएका थिए । त्यसपछि डाक्टरको पत्नी र छोरीमा पनि संक्रमण देखिएको थियो । यो घटनापछि दुईदिनसम्म दिल्लीको सबै मोहल्ला क्लिनिक बन्द गरिएको थियो ।

दिल्लीमा अहिलेसम्म १ सय जना भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यहाँका ५ जना ठिक भएर घर फर्किएका छन् । भारतभर कोरोना संक्रमितको संख्या १४ सय पुग्दा ४० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै १ सय ४० जना मानिस भने ठिक भएर घर फर्किएका छन् ।