२२ मंसिर, एजेन्सी । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडमा भीषण आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गका अनुसार ६३ जनालाई घटनास्थलबाट निकालिएकोमा ४३ जनाको मृत्यु भइसकेको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृत्यु हुनेमा अधिकांश १५ देखि २० वर्ष उमेर समूहका किशोर र युवा रहेका छन् । प्लास्टिकको खेलौना बनाउने भवनबाट आगो सल्किएको बीबीसीले जनाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले घटनास्थल पुगेर मृतकका परिवारलाई प्रतिपरिवार १० लाख राहत दिने घोषणा गरेका छन् । साथै उनले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोरेर जनही एक लाखका दरले राहत दिने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

घना बस्ति भएका कारण उद्दार कार्यमा समस्या भएको उद्दारमा खटिएका अधिकारीहरुले उल्लेख गरेका छन् । सांघुरो गल्ली भएका कारण दमकल र एम्बुलेन्स घटनास्थलसम्म पुगेका थिएनन् । आगलागीको कारण भने स्पष्ट भएको छैन ।