१५ फागुन, एजेन्सी । नागरिकता संशोधन कानुनको विषयमा दिल्लीमा भएको हिंसापछि शान्ति कायम गर्ने विभिन्न कोसिस अहिले पनि जारी छ ।

यसैबीच यहि मुद्दाको विषयलाई लिएर अमेरिका कमिसन फर इन्टरनेशनल रिलिजियस फ्रिडम (युएससीआईआरएफ)ले प्रतिक्रिया दिएको छ । कसिसनले भारतमा धार्मिक अल्पसंख्यको सुरक्षाको विषयमा टिप्पणी गरेको छ ।

कमिसनले ट्वीटरमा भनेको छ, ‘दिल्लीमा मुस्लिमहरुमाथि खतरनाक भिडको आक्रमणको रिपोर्टहरुले कमिसन चिन्तित बनेको छ । भिड नियन्त्रण गर्न र निशानामा राखिएको धार्मिक अल्पसंख्यकहरुको सुरक्षा सुनिश्चित गर्न कमिसन मोदी सरकारलाई अपिल गर्छ ।’

युएससीआईआरएफ, अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत रहेर सन् १९९८ मा स्थापना भएको स्वतन्त्र संस्था हो । यसले संसारभर भइरहेको धार्मिक स्वतन्त्रताको गतिविधिमाथि निगरानी बढाइरहेके हुन्छ ।

दिल्लीमा सोमबारदेखि शुरु भएको हिंसाको कारण ३२ जनाको मृत्यु भइसकेको छ । घटनाबारे बुधबार दिल्ली उच्च अदालतमा भएको सुनुवाईमा प्रहरीलाई आवश्यक कारवाही गर्नको लागि आदेश दिइएको छ । यस्तै भारतीय मुलको अमेरिकी सांसदहरुले पनि घटनाको विरोध गरेका छन् ।

हिंसा भड्किएको ४ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘शान्ति कायम गर्ने कोसिस जारी नै छ । प्रहरी र एजेन्सीहरुले प्रयास गरिरहेका छन् । म दिल्लीबासी दाजुभाई दिदिबहिनीहरुलाई शान्ति र भाईचारा कायम राख्नको लागि अपिल गर्दछु ।’