१५ फागुन, एजेन्सी । दिल्लीमा भएको हिंसा भारतमा मात्र नभएर अब विश्वभर नै चर्चामा भइरहेको छ । घटनाको विषयमा अमेरिकी आयोगले एक विज्ञप्ति निकाल्दै ध्यानकर्षण भएको जनाएपछि भारतीय विदेश मन्त्रालयले त्यसको जवाफ दिएको छ ।

विदेश मन्त्रालयले अमेरिकी आयोगले जारी गरेको रिपोर्ट गलत भएको जनाएको छ । अमेरिकी आयोगको आरोपलाई जवाफ दिँदै विदेश मन्त्रालयले भनेको छ, ‘अन्तर्राष्ट्रिय धार्मिक मामिलााई अमेरिकी एजेन्सीले गरेको टिप्पणी तथ्यहिन र पूरै गलत हो । यसको उदेश्य मुद्दालाई राजनीतिकरण गर्नुमात्र हो । कानुन सम्बन्ध एजेन्सी हिंसा रोक्ने र अवस्थालाई ठिक गर्न जुटिरहेको छ । सरकारका बरिष्ठ अधिकारीहरु यो काममा जुटेका छन् ।’

यसअघि अमेरिका कमिसन फर इन्टरनेशनल रिलिजियस फ्रिडम (युएससीआईआरएफ)ले प्रतिक्रिया दिएको छ । कसिसनले भारतमा धार्मिक अल्पसंख्यको सुरक्षाको विषयमा टिप्पणी गरेको थियो । कमिसनले ट्वीटरमा भनेको थियो, ‘दिल्लीमा मुस्लिमहरुमाथि खतरनाक भिडको आक्रमणको रिपोर्टहरुले कमिसन चिन्तित बनेको छ । भिड नियन्त्रण गर्न र निशानामा राखिएको धार्मिक अल्पसंख्यकहरुको सुरक्षा सुनिश्चित गर्न कमिसन मोदी सरकारलाई अपिल गर्छ ।’

युएससीआईआरएफ, अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत रहेर सन् १९९८ मा स्थापना भएको स्वतन्त्र संस्था हो । यसले संसारभर भइरहेको धार्मिक स्वतन्त्रताको गतिविधिमाथि निगरानी बढाइरहेके हुन्छ ।