१४ फागुन, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
जिटीबी अस्पतालमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो ।

अन्य २ सय ५० जनाभन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यामले जनाएका छन् । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिकता कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मङ्गलबार निकै डरलाग्दो रुप लिएको थियो ।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तर तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।

हिंसाको ३ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति र भाइचारा कायम राख्न अपिल गरेका छन् । मुख्यमन्त्री अरबिन्द केजरीवालले हिंसा प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने बताएका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग कुराकानी गरेका थिए । हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।