१ चैत, काठमाडौं । रुपन्देहीको देवदहमा शनिबार दुई टिप्पर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।

देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु १ ख २५८४ नम्बरको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु २ ख १२१८ नम्बरको टिप्पर सोही दिशातर्फ जाँदै गरेको बा २० च ५५१६ नंको कारमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा लु १ ख २५८४ नम्बरको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिए ।