३१ भदौ, एजेन्सी । अर्थव्यवस्था सुस्त भइरहेको र अटोमोबाइल क्षेत्रमा लगातार मन्दी छाइरहेका बेला भारतमा एउटा साइकल लन्च गरिएको छ ।

जसको मूल्य सवा लाख भारु अर्थात डेढ लाख भन्दा धेरै नेपाली रुपैयाँ पर्छ । साइकल निर्माता कम्पनी हिरो र मोटर कम्पनी यामाहाले मिलेर पहिलोपटक इलेक्ट्रिक साइकल बजारमा ल्याएको हो । यो धेरै आधुनिक र खास प्रविधिमा आधारित छ । तर यसको मूल्य सुन्दा होस उड्ने खालको छ । हिरो र यामाहाले लन्च गरेको इलेक्ट्रिक साइकलको मूल्य १ लाख ३५ हजार भारतीय रुपैयाँ तोकिएको छ । यसको नेपाली रुपैयाँ २ लाख १६ हजार पर्न आउँछ ।

यति धेरै मूल्य हालिसकेपछि यसका विशेषता पनि केही खास छन् । यो ब्याट्रीबाट पनि चलाउन मिल्छ भने पाइडल मारेर पनि चलाउन सकिने खालको छ । झट्ट हेर्दा यसको रुप पनि निकै आकर्षक छ । मूल्य सुनेर ग्राहकले जिब्रो टोकेपनि साइकलका पारखी धनी मानिसका लागि ५ देखि ६ लाख रुपैयाँसम्मका साइकल बजारमा पाइन्छन् ।

गाडी चढिरहेका मानिसहरु पनि आफ्नो स्वास्थ्यका लागि साइकल चढ्ने चाहना राखेकाले मूल्य महंगो भएपनि विक्रीमा कुनै समस्या नहुने चिन्ता कम्पनीको छ । इलेक्ट्रिक साइकलको नाम लेक्ट्रो इएचएक्स ट्वेन्टी राखिएको छ ।