१३ असोज, एजेन्सी । इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २०० सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेका जनाइएको छ ।

साउदी अरेबियाका अधिकारीहरू हुथीको विरूद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र पक्राऊ गर्ने गरेका विद्रोहीहरुले दाबी गरेका थिए । दर्जनौ क्षेप्यास्त्र र ड्रोन आक्रमणमा २०० भन्दा बढी सरकार समर्थक लडाकूहरु मारिएका हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले बताएका छन् । यसैगरी २ हजार भन्दा बढी लडाकूलाई कैद गरिएको पनि उनले बताएका छन् । कैदमा रहेकाहरुमा प्रायः यमनी नै रहेका उनको दाबी रहेको छ ।

अगस्त २५ बाट भएका उक्त आक्रमणहरु भीषण भएको उनले बताएका छन् । तर यस आक्रमणको पुष्टि किन करिब एक महिना पछाडी गरियो भन्ने विषयमा भने केही भनिएको छैन । हुथी विद्रोहीले शनिबार गरेको यस दाबीको साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले भने कुनै टिप्पणी गरेको छैन । अगस्त महिनाको अन्त्यमा यमनको एक सरकारी स्रोतले २०० भन्दा बढी सरकार समर्थक लडाकू मारिएका एएफपी समाचार समितिलाई जानकारी दिएको थियो । तर आक्रमणमा लगभग १३ सय लडाकूहरू पक्राउ परेका र यसमध्ये २८० घाइते पनि रहेका जनाइएको थियो ।

सो स्रोतका अनुसार यमनी सेनालाई विद्रोहीहरुको बलिायो प्रभाव रहेको उत्तरी सादा प्रान्तमा हुथीहरूले चार दिनसम्म घेरा बन्द गरेका थिए । हुथी विद्रोहीहरुले हालैका हप्ताहरूमा थुप्रै ठूला घोषणाहरू गरेका छन् जसमा लामो समयदेखि चलिरहेको युद्धको अन्त्यका लागि साउदी अरेबियालाई ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र हमला रोक्न प्रस्ताव गरिएको छ । गत सेप्टेम्बर १५ मा साउदी तेल प्रशोधन केन्द्रमा भएको भीषण आक्रमणको विद्रोहीहरूले जिम्मेवारी पनि लिएका छन् ।

सन् २०१५ को मार्चमा हुथीहरूले देशको धेरैजसो भागमा कब्जा गरेका थिए । जसमा राजधानी साना पनि रहेको थियो । यमनमा शुरु भएको यस गृहयुद्धको क्रममा यमनका राष्ट्रपति अबेद्रबो मन्सूर हादी पनि साउदी अरेबियाको शरण लिन पुग्नु भएको थियो । यो द्वन्द्वले लाखौंलाई विस्थापित गरेको छ र दुई तिहाइ भन्दा बढी जनसंख्यालाई सहयोगको खाँचो परेको छ ।