१२ चैत, काठमाडौं । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा अवस्थित पीपलबोट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले पशुपालक कृषकलाई मास्क वितरण गरेको छ । विश्वभर फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनिकरणका लागि सहकारीले आज मास्क वितरण गरेको हो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको ‘लक डाउन’मा समेत कृषकले आफ्नो घर गोठमा काम गर्नुपर्ने बाध्यता रहेकाले उनीहरुलाई कोरोनाको सङ्क्रमणबाट सुरक्षित गर्न मास्क वितरण गरिएको सहकारीका सचिव गोपाल पोखरेलले बताए ।

सहकारीले सम्भावित जोखिमबाट अधिकतम सुरक्षा अपनाउँदै आफ्नो दैनिकी सञ्चालन गर्न पशुपालक कृषकलाई आग्रह गर्दै अवलम्वन गर्नुपर्ने उपायका बारेमा जानकारी गराइएको उहाँको भनाइ छ । सहकारीमा दूध लिएर आउँदा समेत कृषकलाई भीडभाड नगर्न तथा पालो गरेर आउन आग्रह गरिएको सहकारीले जनाएको छ ।

घाचोकबाट मात्रै दैनिक तीन हजार ५०० लिटर दुध बजारमा विक्रीका लागि आउने गरेकामा लकडाउनका कारणले उद्योग व्यवसाय तथा पसल बन्द हुँदा आफूहरु मर्कामा परेको कृषकहरुको गुनासो छ । गाउँपालिकाभरबाट दैनिक १० हजार ५०० लिटर दूध पोखरामा आउने गरेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले बताए । रासस