२७ फागुन, एजेन्सी । युएईको शहर दुबईस्थित केही अनलाइन सपिङ पोर्टलहरुले आफ्ना अनलाइनमा राखिएका सामाग्रीहरुको मूल्य ह्वात्तै घटाएको छ । कोरोना भाइरसको प्रकोपका कारण उपभोक्ताहरुले दैनिक सामाग्री बाहेक अन्य सामाग्रीहरु किन्न छोडेपछि इलेक्ट्रिकल सामानहरुको मूल्य एकदमै सस्तो बनाइएको छ ।

विभिन्न अनलाइनहरुमा राखिएको विज्ञापनमा आइफोन टेनएसको मूल्य ४७ प्रतिशत घटाइएको छ । यसरी हेर्दा १ लाख ४२ हजार १ सय ६५ पर्ने आइफोनको मूल्य अहिले ७७ हजार ४ सय ५ रुपैयाँ पर्ने देखिएको छ । आइफोनमा मात्र नभएर अन्य इलेक्ट्रिकल सामाग्रीहरुमा पनि ३० देखि ४५ प्रतिशतसम्म छुट दिन थालिएको नुन अनलाइन सपिङले आफ्नो साइटमा राखेको छ ।

यस्तै अर्को चर्चित अनलाइन सपिङ पोर्टलले इटीसलाटले पनि आफ्ना सामाग्रीहरुको मूल्यमा भारी छुट दिएको छ । उक्त अनलाइनमा राखिएको ५५ इन्चको टिभीको मूल्य १५ सय ९९ दिराम पर्ने देखाइएको छ । उक्त टिभी यसअघि २२ सय ८५ दिराम थियो । विभिन्न अनलाइन सपिङ पोर्टलहरुले आफ्ना हरेक सामानको ५० प्रतिशतसम्मको छुट दिएपछि प्रयोगकर्ताको संख्यामा केही बढोत्तरी आएको गल्फन्यूजले लेखेको छ ।