३ असार, जाजरकोट । विश्वमै लोपोन्मुख सेतो गिद्ध यहाँ फेला परेको छ ।

दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिए । भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताए । सक्लामा हालै फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उनको भनाइ छ ।

‘प्रकृतिको कुचीकार’ गिद्धका विभिन्न प्रजातिमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोप हुने अवस्थामा पुगेको छ । विश्वमै लोप हुने अवस्थामा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई वर्षअघि फेला परेको थियो ।

त्रिवेणी नलगाड नगरपालिका–५ लहँको महादेव स्थान जङ्गलमा सुन गिद्धको गुँड फेला परेको थियो । गुँडमा अण्डा पारे पनि कोरल्न नसकेको पक्षी संरक्षणकर्मी सिंहले बताए । उनले केटाकेटीले गुँडमा ढुङ्गा हान्ने, आगलागी आदि कारणले गर्दा चल्ला कोरल्न नसके पनि एक जोडी सुन गिद्ध जाजरकोटमा रहेको बताए । पाल्पामा पहिलो पटक देखिएको सुन गिद्ध जाजरकोटमा समेत देखिएको हो ।

चरा संरक्षण सङ्घका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एसियामा नौ प्रकारका पाइनेमा ती सबै नेपालमा पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने एक अध्ययनले देखाएको छ ।

पक्षी संरक्षण सङ्घले गरेको अध्ययनबाट जिल्लामा ७५ हिमाली गिद्ध, तीन जोडी हाडफोर गिद्ध तथा एक एक जोडी सुन गिद्ध र सेतो गिद्ध छन् । जनचेतनाका अभावमा वनजङ्गलको विनाश, जथाभाबी आगलागी, गिद्धका गुँडमा ढुङ्गा हान्ने, अन्डा तानेर फालिदिने, जथाभाबी सिनोमा विष हाल्ने कारणले गिद्ध विश्वबाटै लोप हुने अवस्थामा पुगेका छन् । रासस