विष्णु पौडेल ।

देशले पुरानो अनुभवि व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा पाएको छ । चौथो पटकका लागि प्रधानमन्त्री हुन काग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्ष कुर्नु पर्यो । जुन देशमा हरेक नौ-नौ महिनाको औषतमा प्रधानमन्त्री फेरिरहन्छन् ।

सहमतिको नाममा पालै पालो प्रधानमन्त्रीहरु फेरिए । यो अवधिमा कोही दुई पल्ट भए, कोही पार्टीका शिर्ष नेताहरु पालौ पालो प्रधामन्त्री भए । कोहि नपाएपछि कर्मचारीको समेत पालो आयो । तर अहं तपाईको पालो आएन ।

प्रधानमन्त्री हुनको लागि बिताएको यो समय पक्कै पनि निकै कष्टप्रद थियो तपाईको लागि । बल्लबल्ल साइत जुर्यो, तपाई प्रधानमन्त्री हुनुभयो । यसमा आपत्ति विरोध केहि पनि छैन । न हर्ष नै छ न त बिस्मात नै !

सत्ता प्राप्तीको लागि राजनीतिक मुल्य मान्यता, आर्दश गौण हुनेरहेछ । हो यस्तै परिपाटीको विकास भएको छ नेपालमा । यसवाट कोही पनि अछुतो छैन । देशमा सरकार फेरिरहन्छन् मन्त्रीहरु फेरीरहन्छन् तर नागरिकको अपेक्षा फेरीएको छैन । नहुनु पर्ने ठिक उल्टो भयो ।

सरकार परिवर्तन नहुने तर आम नागरिकका अपेक्षाहरु एक पुरा भएपछि अर्काे फेरिनु पर्ने हो तर त्यो छैन । नयाँ प्रधानमन्त्री जो भए पनि खुशियालीमा दीप बाल्नु पर्ने अबस्था नेपालमा छैन ।

धेरै थोरै जानकार तपाई पनि हुनुहोला । डडेल्धुराका सामान्य परिवारवाट देशको बागडोर समाल्न आउनु भएको छ । तपाईको राजनीतिक यात्रा पक्कै सहज थिएन ।

 तपाईले हासिल गरेको राजनीतिक सफलतासंगै उपलव्धी निकै गौण छ । यो सहित चौथो पटक सिहंदरवारको विरासत समाल्न आइपुग्नु भएको छ । कहिले असक्षमताको विल्ला भिर्नुभयो । कहिले संसद विघटन गरि हजुरीयाको काखमा पुर्याउनु भयो । पार्टी फुटाउन पनि पछि पर्नुभएन । स्थानीय निकायको म्याद सकिएपछि जनप्रतिनिधिविहीन बनाउनु भयो ।

देशमा पहिलो पटक संकटकाल लगाउनु भयो । पजेरोको संस्कार पनि तपाईले नै चलाउनु भयो । प्रधानन्यायाधीश शुसिला कार्कीलाई महाभियोग लगाउनको लागि प्रमुख भुमिका निर्वाह गर्नुभयो । लोकतन्त्रलाई दायाँवायाँ नसोची दरवारमा लगेर बुझाउनु भयो । जनताको नजरमा तपाई हरेक पटकको परीक्षामा फेल हुनुभयो ।

यी हिजोका तपाई माथी लागेका र लगाइएका आरोप हुन् कृपया केहि हेक्का राख्नु होला । अवको परीक्षामा उत्तिर्ण हुने कोसिस मात्र गरे पनि तपाई सफल हुनुहुनेछ ।

तपाईमाथि विभिन्न कालखण्डमा लागेका आरोप र तपाईले गरेका नराम्रा कामहरु तर्फ नलागौ । साच्चीकै देशका लागि कसले पो के गरे भन्ने अर्काे प्रश्न उठ्न सक्छ र स्वभाविक पनि हो । भोका, नाड्गा, गरीव, बेरोजगारको अबस्था हेर्ने हो भने भयानक छ । देशको यो भयावह स्थितीबाट तपाई पक्कै पनि जानकार हुनुहुन्छ ।

अहिलेसम्म हामी सामान्य नागरिकले बुझेको खोक्रो भाषण गरेको छ, जनतालाई अल्मलाईरहेको छ, भष्ट्रचार गरेको छ, देश विदेश घुमेकै छ, वस ! यहि त हो नी । केहि सकरात्मक पाटोलाई छोड्ने हो भने ।

मंगलवार संसदमा झण्डै दुई तिहाई बहुमत ल्याई तपाई प्रधामन्त्री भएको घोषणा हुदै गर्दा उमेरले ७१ वर्षको तपाईको अनुहार टेलिभिजनका सेटहरुमा तरुनो देखिएको थियो ।

अविर र खादाले तपाई छोपीदा आम नागरिकको आशाको त्यान्द्रो बलेको थिएन । जो आए पनि उस्तै भन्दै न्यास्रो मानिरहेको आभाष हुन्थ्यो ।

सिंहदरवारको भित्तामा हरेक पल्ट मोनालीसा शैलीमा मुस्काईरहेका फोटो झुण्ड्याइन्छन् । भित्तामा ती फोटाहरु हाँसीरहे पनि गरीव, असाहय, न्याय नपाएका जनताको ओंठमा हाँसो छैन । फोटोहरु फेरिरहन्छन् तर फेरिदैन राजनीतिक संस्कार ।

तपाईका आसेपासे, कार्यकर्ताले हर्षाेल्लासपूर्वक बाजागाजासहित खुशियाली मनाए । खुशीको उन्मातमा कयौं ब्राण्डेड मदिराहरु खोलीएहोला । रात्रीभोजको आयोजना गरिएहोला । तल्लो लेवलदेखि उच्च ओहदाको जागिरको लागि, ठेक्का पट्टाको लागि तपाईको चाकडी गर्नेहरुको जमात ठुलै छ होला ।

तपाईलाई थाहा हुनु पर्छ देशका दुर दराजमा बस्ने जनताले तपाई प्रधानमन्त्री भएकोमा दिपावली गरेनन् । यो तपाई हुँदा मात्र होइन, तपाईका पक्ष, विपक्ष दलका सहपाठीहरु प्रधानमन्त्री हुँदा पनि जनता खुशी भएनन् । गणतन्त्र आएको एक दशक भयो । यो एक दशकमा राजतन्त्र फाल्नु बाहेक सम्झन सक्ने कुनै काम नै भएनन् ।

नेपाली जनताको फराकिलो हृदय छ । जस्तोसुकै परिस्थतीको सामाना गर्न सक्छन् । नेताहरुले पटक पटक दोहोर्याई दोहोर्याई गरेका कयौं गल्तीहरुलाई मात्र सानो राम्रो काम गरे माफी दिन्छन् ।

यस्ता धेरै उदाहरण छन् हाम्रो इतिहासमा । गुण र दोषको आधारमा मुल्याड्न गर्ने क्षमता छ जनतामा । राम्रो काम गर्नेलाई असाध्य न्यायो सद्भाव दिन्छन् चाहे जुन सुकै पाटीको होस् । नेपालको ४०औ प्रधामन्त्री हँुदै गर्दा तपाईले विगतका सबै तिता कामहरुलाई विर्सने गरि मात्र एक काम गरिदिनुस् विन्ती छ । जनताले देख्ने गरि, भोग्ने गरी सुशासन र विकासको पक्षमा यस पटक केहि गरेर देखाइदिनुस देउवा सर ।