४ भदौ, एजेन्सी । ‘बाहुबलीः द बिगिनिंग’ र ‘बाहुबली २ः द कन्क्लूजन’का नायक प्रभास (बाहुबली)ले नायिका अनुष्का शेट्टी (देवसेना)सँगको सम्बन्ध भएको समाचारलाई अफवाह बताएका छन् ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि अनुष्का र मेरोबीच यस्तो सम्बन्ध भए पछिल्लो दुईवर्षमा हामीलाई किन सँग देखिएन । हामी दुई वर्ष त कुनै कोठामा बन्द भएर बस्न सक्दैनौं । हामी सेलिब्रेटी हौं, एकसाथ बाहिर जाँदा मानिसहरुले चिनिहाल्छन् । त्यसकारण पनि यो सब अफवाह हो । यति भन्दा पनि विश्वास छैन भन्नेलाई मेरो भन्नु केही छैन ।’

उनी अगाडि थप्छन, ‘यस्ता कुराहरु कहाँबाट आउँछन् मलाई थाहा छैन, मानिसहरु मलाई अफेयरमा भएको हेर्न चाहन्छन् की झैँ लाग्छ । अनुष्का र म पारिवारिक साथी हौं । हामी एकअर्काको परिवारलाई पनि राम्ररी चिन्छौं । तर हामीबीच अहिलेसम्म रिलेसनसीपमा छैनौं ।’

अनुष्का र प्रभासले ‘बाहुबलीः द बिगिनिंग’ र ‘बाहुबली २ः द कन्क्लूजन’ मा सँगै काम गरेका थिए । जसमा अनुष्का देवसेनाको भूमिकमा प्रस्तुत भएकी थिइन् । ‘बाहुबली २ः द कन्क्लूजन’ पछि प्रभासको ‘साहो’ फिल्म रिलिजको संघारमा छ । फिल्म ३० अगस्टमा रिलिज हुँदैछ ।