२९ भदौ, राजविराज ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमांकन गरिनुपर्ने बताएका छन् । त्यसो गरेमा मधेशको मुद्दा हल गर्न सकिने उनको भनाई छ ।

प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि तराई झरेका भट्टराईले सप्तरीको राजविराजमा पत्रकारसँग कुराकानी गर्दै मधेशको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

उनले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको बताए । त्यसैका बलमा समग्र देशलाई विकास र समृद्धिको दिशातिर लैजाने प्रतिबद्धता जनाउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको उनको भनाई थियो ।

‘अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन’ उनलेले भने, ‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ ।’

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टीहरु सत्तामा फर्किन सक्ने संभावनाको रहेको भन्दै उनले नयाँ शक्तिले आन्तरिक रुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्य रुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्ने बताए ।