२ कात्तिक, काठमाडौं ।
१० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । ५ भदौमा १८ वर्ष उमेर पुगेका र फोटोसहित मतदाता नामावली दर्ता गराएकाहरूको नाम निर्वाचन आयोगले टुंगो लगाएको हो । आयोगका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ निर्वाचन क्षेत्रका ३२ लाख २८ हजार आठ सय ७९ जना मतदाताले मताधिकारको प्रयोग गर्न पाउनेछन् । त्यसैगरी, आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका लागि देशभर १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ ।

समानुपातिक निर्वाचनका मतपत्र छापिँदै

आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र छापिइरहेको छ । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार ९० लाख मतपत्र छापिसकिएको छ । समानुपातिक निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र आवश्यक पर्छ । ७ कात्तिकभित्र समानुपातिक निर्वाचन प्रणालीका आवश्यक मतपत्र छापेर ८ कात्तिकबाट प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छाप्न सुरु गर्ने तयारी आयोगको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

मतदान शिक्षाका लागि २० हजार कार्यकर्ता

आयोगले एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता पठाउने तयारी गरेको छ । आयोगका अनुसार २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ । उनीहरूमार्फत यसपटक स्थानीय तहमा भन्दा बढी नमुना मतदान गराउने तयारी आयोगको छ । आयोगले १६ भाषामा मतदाता शिक्षा प्रदान गर्दै छ । स्थानीय तहमा १३ प्रतिशत मत बदर भएपछि आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा कम मत बदर होस् भनेर नमुना मतदान धेरै गराउन लागेको आयोगको भनाइ छ । समानुपातिकतर्फको रातो र पहिलो हुने निर्वाचित हुनेतर्फको हल्का हरियो रङमा नमुना निर्वाचन चिह्नहरू राखिएको नमुना मतपत्र छपाइ गरी निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग गर्न जिल्ला जिल्लामा पठाइसकेको छ ।

निर्वाचनलाई सहयोगी आदेश

प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सर्वोच्च अदालतको बुधबारको आदेश मंसिरको निर्वाचनका लागि सहयोगी हुने गरी आएको बताएका छन् । उनले अदालतको आदेशले निर्धारित मितिमा निर्वाचन हुनेमा शंका नभएको उल्लेख गरे । निर्वाचन मिति सार्नुपर्ने र प्रदेश सभा र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो ।

कस्ता हुनेछन् मतपत्र ?

आयोगका अनुसार समानुपातिक तथा प्रत्यक्ष निर्वाचनको मतपत्र छुट्टाछुट्टै हुनेछ । दुवै निर्वाचका लागि एकै प्रकारको ढाँचा तयार गरिएको छ । एउटै पानाको माथिल्लो भाग मतपत्र १ उल्लेख हुनेछ । मतपत्र १ उल्लेख भएको भाग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुनेछ । त्यसैगरी, सोही पानाको तल्लो भागमा मतपत्र २ उल्लेख हुनेछ र त्यो भाग प्रदेश सभा सदस्य निर्वाचनका लागि हुनेछ । डा. यादवका अनुसार समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने प्रत्यक्ष निर्वाचनका लागि मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिनेछ ।