११ मंसिर, काठमाडौं ।
कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो चरणमा खटाउने नीति लिएको हो । निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले आवश्यकताअनुसार प्रतिनिधिसभाका ३५ सहित प्रदेश सभाका उम्मेदवारलाई बाँकी ४५ जिल्लामा खटाउने जानकारी दिए ।

‘निर्वाचन सकिए पनि केही उम्मेदवार प्राविधिक काममा जिल्लामै व्यस्त हुन सक्छन् तर अन्य ठाउँमा प्रचारमा जान तयार हुनेलाई हामी तत्काल खटाउँछौँ,’ खाणले भने, ‘४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाए पनि उम्मेदवार भइसकेकालाई विशेष प्रतिनिधिका रूपमा खटाउने तयारीमा छौँ ।’ पहिलो चरणको निर्वाचन भए पनि मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएकाले उम्मेदवार भइसकेका नेतालाई पनि प्रचारमा खटाएर पार्टीका पक्षमा थप माहोल बनाउने नीति कांग्रेसले लिएको हो । वाम गठबन्धन बन्दा धेरै सिट जित्न दबाबमा परेको कांग्रेसले प्रचारलाई थप प्रभावकारी बनाउन नेताहरूलाई जिल्लाको तल्लो तहसम्मै परिचालनको नीति लिएको छ । ‘हामी पहिलो चरणमा उम्मेदवारलाई पनि सोध्छौँ, जानुपर्ने ठाउँमा पठाउँछौँ । उहाँहरूको प्रभावकारिताअनुसार पठाउने तयारी छ,’ खाणले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

केन्द्रीय प्रतिनिधि आज तोकिने
कांग्रेसले २१ मंसिरमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार केन्द्रीय प्रतिनिधि तोक्दै छ । प्रदेश, जिल्ला, क्षेत्रका पार्टी संरचनासँग समन्वय गर्दै पार्टीलाई जिताउने भूमिकासहितका कामका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउन लागेको जानकारी खाणले दिए ।

२१ मंसिरसम्मै प्रधानमन्त्री देउवाको व्यस्त तालिका

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो चरणको निर्वाचनसम्मै देश दौडाहाको व्यस्त तालिका छ । सोमबार तेह्रथुम, सुनसरी, झापामा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यसतर्फ जानेछन् । १२ मंसिरमा कपिलवस्तु र दाङ, १३ मंसिरमा स्याङ्जा बजार, कास्कीको अमरसिंह चोक, नवलपरासीको चुनावी सभालाई सम्बोधन गरेपछि सोही दिन काठमाडौंको महाराजगन्जमा हुने सभालाई सम्बोधन गर्न उनी आउने कार्यक्रम छ । १४ मंसिरमा सर्लाही, सिरहा, महोत्तरीमा कार्यक्रम सकाएपछि कैलाली र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् । त्यसपछि डोटी र अछामको कार्यक्रममा व्यस्त हुने देउवा १७ देखि २१ मंसिरसम्म गृहजिल्ला डडेल्धुरामै व्यस्त हुनेछन् । डडेल्धुरामा भोट हालेपछि प्रधानमन्त्री काठमाडौं फर्किने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

पहिलो चरणका शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित गर्दै एमाले

पहिलो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएका एमाले शीर्ष नेता दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुने भएका छन् । पहिलो चरणमा उम्मेदवार भएका योगेश भट्टराई, शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, अरुण नेपाल, राजेन्द्र पाण्डेलगायत नेता चुनावी प्रचारप्रसारमा खटिनेछन् । एमालेबाट पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा धेरै शीर्ष नेता छन् ।

एमाले सचिवसमेत रहेका भट्टराईले पहिलो चरणमा निर्वाचन भइसकेका क्षेत्रका नेतालाई चुनावी गतिविधिमा खटाइने बताए । ‘पहिलो चरणको निर्वाचन भर्खर सकिएको छ,’ उनले भने, ‘पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएका शीर्ष नेतालाई कार्यतालिका बनाई खटाउँछौँ ।’ निर्वाचन प्रचारप्रसारलाई आक्रामक बनाउन नेताहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने उनको भनाइ छ ।
भोजपुर प्रदेश सभा ‘ख’का उम्मेदवार शेरधन राई आफ्नो क्षेत्रमा निर्वाचन भएपछि प्रदेश नम्बर १ मा केन्द्रित हुने भएका छन् । पार्टीले आफूलाई आगामी मुख्यमन्त्रीका रूपमा हेरेकाले दोस्रो चरणको निर्वाचनमा आफ्नै प्रदेशका चुनावी सभामा केन्द्रित हुने उनको भनाइ छ । दोस्रो चरणको निर्वाचन नहुँदासम्म उनी झापा, मोरङ, उदयपुर, तेह्रथुम, इलामलगायत विभिन्न जिल्लामा केन्द्रित हुने भएका छन् । पार्टी केन्द्रको निर्देशन नभएकाले स्थानीय नेता कार्यकर्ताको आवश्यकताअनुसार चुनवी प्रचारमा लाग्ने राईले बताए ।

दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा जुट्दै माओवादी नेता

पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै माओवादी केन्द्रका सबै शीर्ष नेता दोस्रो चरणको निर्वाचन प्रचारप्रसारमा केन्द्रित हुने भएका छन् । दोस्रो चरणको निर्वाचन २१ मंसिरमा हुँदै छ । माओवादीले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार कहाँ–कहाँ खटिने भन्ने विषयमा निर्णय नगरेको नेता शक्तिबहादुर बस्नेतले बताए । पहिलो चरणमा उम्मेदवार भएका नेता बस्नेत, वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायत नेता दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारमा खटिने भएका छन् । जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार रहेका बस्नेतले प्रदेश नम्बर ५ र ६ मा पर्ने जिल्लाका चुनावी कार्यक्रममा आफू केन्द्रित हुने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘आगामी दिनमा निर्वाचन प्रचारप्रसारमा स्थानीय पार्टी नेता कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु ।’

रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका वर्षमान पुन ललितपुरका विभिन्न चुनावी कार्यक्रममा सरिक हुने भएका छन् । पुनले दाङ, ललितपुर र काठमाडाैँका विभिन्न चुनावी सभालाई सम्बोेधन गर्नेछन् । उनी ललितपुरको महांकाल गाउँपालिकाको गोटीखेलमा १५ मंसिर र १६ गते कोन्ज्योसोम गाउँपालिकाको भारदेउमा हुने चुनावी सभामा सरिक हुनेछन् ।

पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका जनार्दन शर्माले काठमाडाैँका विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् । १२ मंसिरमा नयाँ बानेश्वरमा हुने चुुनावी सभालाई प्रचण्डसहित केपी ओली, जनार्दन शर्मालगायत नेताले सम्बोधन गर्ने काठमाडौं १ का उम्मेदवार अनिल शर्माले जानकारी दिए ।

दुवै राप्रपाले सम्पूर्ण पंक्ति परिचालन गर्ने

राप्रपा र राप्रपा प्रजातान्त्रिकले पहिलो चरणमा निर्वाचन सकिएका जिल्लाका नेता–कार्यकर्तालाई दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा खटाउने भएका छन् । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन लडेका दुवै दलले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएका हुन् । कुन नेतालाई कहाँ खटाउने भन्ने विषयमा भने दुवै पार्टीले बैठक बसेर निर्णय गर्ने बताएका छन् । राप्रपा र राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा कांग्रेससँगको तालमेलमा चार–चार स्थानमा उम्मेदवारी दिएका छन् । राप्रपाले त्यसबाहेक झापा ३ मा वाम गठबन्धनसँगको तालमेलमा महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको छ ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले अब पहिलो चरणमा निर्वाचन सकिएका क्षेत्रका नेता–कार्यकर्ता पनि दोस्रो चरणको निर्वाचन हुने स्थानमा खटाइने जानकारी दिए । ‘पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका नेता–कार्यकर्ता दोस्रो चरणको निर्वाचन हुने जिल्ला र निर्वाचन क्षेत्रमा खटिन्छन्,’ तामाङले भने ।

राप्रपा प्रजातान्त्रिकले पनि पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका नेता–कार्यकर्तालाई दोस्रो चरणको निर्वाचनमा खटाउने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । ‘जसरी भए पनि पार्टीलाई जिताउनु छ, लोकतान्त्रिक गठबन्धनलाई जिताउनु छ, त्यसैले अब पार्टीको सबै पंक्ति दोस्रो चरणमा निर्वाचन हुने स्थानमा खटिन्छन्,’ गुरुङले भने ।