४ चैत, सिरहा । प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको हो ।

अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाइएको छ ।

घरेलु मदिरा बनाउने भट्टी भत्काउने, तयारी मदिरा नष्ट गर्ने र मदिरा उत्पादन कार्यमा संलग्नलाई पक्राउ गर्ने कार्य भइरहेको उनले बताए । अभियान शुरु गरेपछि दुई दिनको अवधिमा प्रहरीले तीन हजार ४०० लिटर तयारी अवैध घरेलु मदिरा, ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।