७ माघ, काठमाडौं । धादिङमा ढोलामण्डली तीर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरूमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलबहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ, र नजबहादुर गुरुङ रहेका छन् । मृतकहरू नीलकण्ठ नगरपालिका–२ भुलभुले टोलका बासिन्दा हुन् ।

दुर्घटनामा परी चारजनाको घटनास्थलमा र तीनजनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । धादिङमा मेला भरेर फर्केका यात्रु चढेको ट्रक दुर्घटना, ६ जनाको मृत्यु दुर्घटनामा चालकसहित ३५ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई हेलिकप्टरबाट काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । चारजना जिल्ला अस्पतालबाट उपचारपछि घर फर्किएका छन् ।

२० जनाको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सदरमुकाम धादिङबेसीबाट ७ किलोमिटरको दूरीमा भएको सो दुर्घटनापछि जिल्ला सदरमुकाम धादिङबेसीबाट प्रहरी तथा उद्धारकर्मी तुरुन्तै घटनास्थल पुगेका थिए । ट्रकमा ४० जनाभन्दा बढी यात्रु रहेका थिए ।