१४ असोज, रसुवा । आउँदै गरेको पर्यटन वर्षलाई केन्द्रित गरी आन्तरिक एवं बाह्य पर्यटकको यात्रा सफल पार्न आजदेखि पहिलो पटक धुञ्चे पोखरा बस सेवा सञ्चालन भएको छ ।

रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं सो बस सञ्चालकका वरिष्ठ सल्लाहकार सञ्जीव अमात्यका अनुसार रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड, तथा लाङटाङ क्षेत्र र तामाङ सम्पदा मार्गको भ्रमण सहज र सरल बनाउने उद्देश्यले धुञ्चेदेखि पोखराको लेकसाइटसम्म नियमित बस सेवा सञ्चालन गरिएको हो ।

टिमुरे यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको सहकार्यमा सञ्चालन भएको उक्त बस सेवाको भाडादर प्रतिव्यक्ति रु ८५० कायम भएको बताइएको छ । रसुवा पोखरा बस सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ र रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले संयुक्त रुपमा शुभारम्भ गरेका थिए । बिहान ७ बजे धुञ्चेबाट पोखराको लागि एक वटा र पोखराबाट धुञ्चेका लागि एक वटा बिहान ६ः४५ बजे छुट्ने वरिष्ठ सल्लाहकार अमात्यले जानकारी दिए ।

बस सञ्चालनले हिमाली प्रकृति छटाको अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज भएको र अर्कोतर्फ पोखरा र रसुवाको आत्मीयता गाँसिनेमा आफूहरु आशावादी भएको स्थानीयवासीले बताएका छन् । पोखराबाट धुञ्चे पुग्ने समयावधि आठ घण्टा लाग्ने चालकले बताएका छन् ।

रसुवाका बासिन्दाले पोखरा घुम्न र पोखरा कास्कीका बासिन्दाले पवित्र तीर्थ गोसाइँकुण्डस्थित शिवजीको दर्शन एवं रसुवागढीको अवलोकन गर्नसमेत सहज हुने तथा यस क्षेत्रका व्यापार व्यवसायसमेत अभिवृद्धि हुने पर्यटन व्यवसायीको विश्वास छ । रासस