१३ चैत, भद्रपुर । नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको नाममा दर्ता छ । एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई रु नौ हजार भाडामा लैजाँदै गर्दा प्रहरीले जाँचका क्रममा यात्रु बिरामी नभएको रहस्य खुलासा भएको थियो ।

एम्बुलेन्स र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ । प्रहरीले जाँच गर्दा एक यात्रुले बिरामी भएको नाटक गर्दै हत्तपत्त स्ट्रेचरमा सुत्ने प्रयास गरेका थिए । एम्बुलेन्समा दुई बालबालिकासहित एकै परिवारका चार सदस्य थिए । यात्रुलाई प्रहरीले छाडिदिएको छ । भद्रपुरबाट विराटनगरसम्मको एम्बुलेन्स भाडा रु चार हजार तीन सय मात्र हो ।रासस