यदि तपाइको अनुहार मलिन छ, छालामा चमक छैन भने तपाइले आफ्नो सुताइ र निन्द्राको बानी विचार गर्ने बेला भएको छ। स्वस्थ छाला र रातीको निन्द्राबीच प्रत्यक्ष सम्बन्ध हुन्छ। धेरैको यो अनुभव अब वैज्ञानिकहरुले पनि पुष्टी गरेका छन्।

नेचर सेल वायोलोजीको एक नयाँ अनुसन्धानले रात्रीकालिन आरामले छाला स्वस्थ राख्ने तथ्य उजागर गरको हो।

यो अनुसन्धान मुसा र तिनीहरुको कोलाजेन उपर गरिएको थियो। कोलाजेन एक्ट्रासेलुलर म्याट्रिक्समा पाइने मुख्य प्रोटिन हो। शरिरमा हुने प्रोटिनको २५ देखि ३५ प्रतिशत हिस्सा कोलोजेनको हुन्छ। हाड, मसल्स, छाला र टेन्डन्सहरुमा पाइने यो प्रोटिनको काम शरिरलाई जोडेर राख्ने हो।

रातीको निन्द्राले एक्ट्रासेलुलर म्याट्रिक्सलाइ स्वस्थ राख्न, यसको कार्य सञ्चालन नियमित र सही ढंगले गर्न मद्धत गर्ने पत्ता लागेको हो। एक्ट्रासेलुलर मेट्रिक्सले हाम्रो शरिरको कोषहरुलाई संरचनात्मक आड दिन्छ। कनेक्टिभ टिस्यु जस्तै हाड, छाला, काट्रिलेज आदी एक्ट्रासेलुलर मेट्रिक्स हुन। सजिलो संग बुझ्दा, एक्ट्रासेलुलर म्याट्रिक्सको संरचना भित्र कोषहरु अडिएका हुन्छन्। हाम्रो शरिरको आधा हिस्सा एक्ट्रासेलुलर मेट्रिक्सले बनेको छ। र एक्ट्रासेलुलर मेट्रिक्सको आधा हिस्सा कोलाजेनले बनेको छ।

अनुसन्धानबाट कोलाजेनको दुइ प्रकारको संरचना पत्ता लागेको छ।

पहिलोः कोलाजेनको मोटो संरचना। यो संरचना १७ वर्ष पुग्दा नपुग्दै शरीरमा पूर्ण विकास भइसकेको हुन्छ। यो स्थायी संरचना हो। र हाम्रो जीवन भर उस्तै रहिरहन्छ।

कोलाजेनको दोस्रो संरचना पातलो हुन्छ र सामान्य शारिरीक दबाबले यसलाई सजिलै क्षति पुर्याउँछ। यसरी क्षति पुग्ने यो संरचना रातीको निन्द्राको समयमा आफै मर्मत हुन्छ।

कोलाजेनको यो पातलको संरचनाले भित्रको स्थायी मोटो संरचनालाई दैनिक हुने शारिरीक दबाबबाट बचाउछ र छाला च्यातिनबाट जोगाउँछ।

कोलाजेन शरिरमा सबैभन्दा बढी पाइने प्रोटिन हो। यसले छालामा चमक, लचकता र शक्ति प्रदान गर्छ। अर्थात ‘ब्युटी स्लिप’ सत्य भएको यो अनुसन्धानले पुष्टि गरेको हो। रातीको मिठो निन्द्राले शरिर र मनमात्र तन्दरुस्त हुदैन, छालाको चमक र लचकता पनि बढ्छ।