नर्वेको समुन्द्री तटमा पुगेको एउटा सेतो ह्वेलले अहिले विश्वव्यापी समाचार बनाइरहेको छ। यो सेतो ह्वेल रुसी जासुस हुनसक्ने आशंका गरिएको छ। ह्वेलको शरिरमा एक खास पट्टा बाँधिएको छ। यसलाई रुसी नौसेनाले ट्रेनिङ दिइएको हुनसक्ने बताइएको हो।

ह्वेलको शरिरमा बाँधिएको पट्टामा गोप्रो क्यामेरा होल्डर छ। तर होल्डरमा क्यामेरा भने भेटिएन। होल्डरसंग लेखिएको छ ‘सेन्ट पिटर्सबर्गको उपकरण’।

गएको हप्ताको सोमबार नर्वेका माझीहरुले यो ह्वेललाइ भेटेका थिए। यसलाइ रुसी सेनाले ट्रेनिङ दिएको नर्वेका सरकारी अधिकारीको आशंका छन्। नर्वेजीयन इन्स्टिच्युट अफ मरिन रिसर्चका मार्टिन न्युको अनुसार यो रुसी जासुस हुनसक्ने प्रवल सम्भावना छ। अहिलेसम्म यो ह्वेल कहाँबाट आयो, सो बारेमा कुनै ठोस प्रमाण भेटिएको भने छैन।

यता रुसी रक्षा मन्त्रालयले कुनै पनि ट्रेनिङमा समुन्द्री जनावर प्रयोग नगरेको बताएको छ। तथापी रुस लगायत विभिन्न देशका सेनाले ह्वेल तथा डल्फिनलाई सैन्य प्रयोगको लागि ट्रेनिङ दिने गरेको इतिहास रहेको छ।

सोभियन संघको समयमा क्रिमियाको समुन्द्री तटमा केही डल्फिनहरु गार्ड राखिएका थिए। यदि पानी मुनीबाट कोही डाइभर पौडर तटतर्फ आए, डल्फिनले तटिय स्टेशनलाइ संकेत पठाउँथ्यो। डल्फिनले ध्वनी तरङ्गको माध्यमबाट आपसमा संकेत गर्ने भएकाले यो तरङ्ग मापन गरेर डल्फिनले संकेत गर्न खोजेको विषय पत्ता लगाइन्थ्यो।

सोभियत संघ भंग भएपश्चात सेनाले समुन्द्री जनावरलाइ ट्रेनिङ दिन बन्द गर्यो। सन् २००० को बीबीसी रिपोर्ट अनुसार गार्डमा राखिएका डल्फिन इरानलाइ बेचियो। तर पछि सन् २०१२ मा युक्रेनमा फेरी यस्तो कार्यक्रम सुरु भयो। जुन सन् २०१४ मा रुसी रक्षा मन्त्रालयले आफ्नो कब्जामा लियो। त्यस पश्चात रुसी सेनाले डल्फिन र सिललाई सैन्य ट्रेनिङ दिदै आएको रुसी मिडिया बताउँछन्। सन् २०१६ मा रुसले पाँचवाट बोटलनोज डल्फिन किन्नको लागि २४ हजार डलर अफर पनि गरेको थियो।

सन् २०१३ मा इराक युद्धमा अमेरिकी सेनाले पनि विस्फोटक पत्ता लगाउन डल्फिनको प्रयोग गरेको थियो।