२८ भदौ , परासी।

नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको छ ।

यसअगावैको समय सकिएपछि आजबाट निषेधाज्ञाको समय भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए।

यस पटकको समय अवधि थप भएसँगै पाँचौँपटक निषेधाज्ञाको समय बढाइएको हो । प्रशासनले नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकसम्मको पूर्वपश्चिम राजमार्ग र दायाँबायाँ ५०० मिटर, परासीको मुख्य बजारदेखि सुनवल सडकसहित दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ ।

स्थानीय प्रशासनले पहिलोपटक भदौ १३ गतेसम्म र दोस्रोपटक भदौ १६ गते, तेस्रोपटक भदौ १६ सम्म, चौथोपटक भदौ २७ गते र पाँचौँपटक भदौ ३१ गतेसम्मलाई निषेधित क्षेत्रका समय अवधि थप गरेको छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण एक महिनादेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, वित्तीय संस्था बन्द हुँदै आएका छन् । रासस