१ चैत, काठमाडौं । भैरहवाको नापी कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटकपटक घुस मागेको उजुरी परेको थियो । उजुरीको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले छापा मारेको थियो ।

अख्तियारको टोलीले छापा मार्दा भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी तथा मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्यालले एक आपसमा मिलिजुली बांडीचुंडी खाने मनसायले सेवाग्राहीसंगबाट सत्र लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरु सबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।