१३ भदौ, काठमाडौं । चलचित्र आमाको फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिनको शुभ अवसर पारेर चलचित्र निर्माण टीमले फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा गाउँले परिवेश देखाइएको छ । तस्बिरमा एक महिलाले डोकोमा घाँसमाथि आफ्नो सन्तानलाई बोकेकी छन् । दीपेन्द्र के. खनालको छायाँकन, लेखन र निर्देशनमा बन्न लागेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछन् । फागुन ९ गतेको प्रदर्शन मिति तोकिएको चलचित्रको सह–निर्माताको रुपमा सन्तोष अधिकारी छन् ।

चलचित्रको मूख्य भूमिकामा नायिका सुरक्षा पन्त देखिँदैछिन् । उनले चलचित्रको लागि भन्दै आफ्नो केशमुण्डन गरिसकेकी छन् । चलचित्रको लागि केश मुण्डन गरेकी उनको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । आफ्नो भूमिकाको लागि केश मुण्डन गरेकोमा उनलाई पनि कुनै पछुतो नभएको बताएकी थिइन् ।