१२ साउन, रत्ननगर (चितवन)।

नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ ।narayani river flood 114345018

यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।

गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो ।

विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो ।

चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए। मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पुर्याएको छ ।

उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ ।

यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । गोलाघाटमा ड्याममा क्षति पुर्याएकाले अस्थायी मर्मत गरिएको छ ।

बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ ।

आज बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस