९ माघ, एजेन्सी । भारतको निर्भया प्रकरणमा चारैजना दोषीहरुविरुद्ध मृत्युदण्डको मिति तय गर्ने न्यायाधीस सतीसकुमार अरोडालाई सरुवा गरिएको छ । दिल्लीको पटियाला उच्च अदालतका न्यायधीस सतीशकुमार अरोडालाई अब सर्वोच्च अदालतमा सरुवा गरिएको हो । सर्वोच्च अदालतमा उनले एडिसनल रजिस्ट्ररकोे रुपमा एक वर्ष काम गर्नुपर्नेछ ।

स्मरण रहोस् पटियाला उच्च अदालतले १७ जनवरीमा निर्यया बलात्कार प्रकरणका चारैजना दोषीहरुलाई मृत्युदण्ड दिने मिति तोकेको थियो । आदेश अनुसार १ फरवरी बिहान ६ बजे उनीहरुलाई फाँसी दिइनेछ । यसअघि उनीहरुलाई जनवरी २२ तारिखमा पनि फाँसी दिइने भनिएको थियो ।

यसैबीच निर्भया घटनाका दोषीमध्येका एक पवन गुप्ता नाबालिग भएको दाबी पनि कोर्टले खारेज गरिदिएको छ । उच्च अदालतले पवन गुप्ताको यो अपिललाई पहिलो पटकमै खारेज गरिदिएको थियो । त्यसपछि उनी सर्वोच्च अदालत गएका थिए । चारजनामध्ये एकलाई माफी दिने अपिल राष्ट्रपतिबाट खारेज भएको थियो ।

२०१२ डिसेम्बर १६ मा दिल्लीमा ६ जनाले चलिरहेको बसमा निर्भयालाई सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि उनीहरुले निर्भया र उनको साथीलाई मरेको भन्दै बसबाट फालिदिएका थिए । प्रहरीले निर्भया र उसको साथीलाई अस्पताल पुर्याएको थियो । अवस्था गम्भीर भएपछि उपचारको लागि उनलाई सिंगापुर समेत लगिएको थियो । २९ डिसेम्बर २०१२ मा सिंगापुरको अस्पलमा उपचारको क्रममा निर्भयाको मृत्यु भएको थियो । १३ डिसेम्बर २०१३ मा जिल्ला अदालतले चार दोषीहरु पवन गुप्ता, विनय शर्मा, मुकेश र अक्षय सिंहलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।