३ मंसिर, काठमाडौं । निर्मला हत्याकाण्ड भएको २५ दिनपछि हत्यामा संलग्न भएका आशंकामा स्थानीय दिलीप सिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर मानसिक रोगी रहेका विष्टलाई प्रहरीले नक्कली अभियुक्त बनाई सार्वजनिक गरेको भन्दै स्थानीयहरुले आन्दोलन गरिरहँदा विष्टको डिएनए समेत नमिलेपछि आन्दोलनकारीको दबाब र प्राविधिक कारणले प्रहरीले विष्टलाई थुनामुक्त गरेको थियो ।

स्थानीय युवती पन्तको हत्या भएको करिब १५ महिनापछि फेरी अनुसन्धानको सुई तिनै दिलीप ष्टितिर फर्किएको छ । विष्ट मात्र होईन त्यसबेला अनुसन्धान गरिरहेका व्यक्तिहरुमाथि नै फेरी सुक्ष्म अनुसन्धान प्रहरीले थालेको छ । अनुसन्धान गर्दा उनै विष्ट नै प्रमुख दोषी रहेको निष्कर्ष निकारी प्रहरीले उनै विष्टलाई पक्राउ गर्ने तयारी थालेको छ ।

उनको विरुद्ध निर्मलाकी आमाले २ महिनाअघि किटानी जाहेरी दिएकी थिइन् भने त्यसको सुनुवाई नभएको भन्दै अहिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पनि गराएकी छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । जसकारण प्रहरीले पहिला पक्राउ गरेर सोधपुछ गरेका व्यक्तिहरूमध्ये नै घटनाका अभियुक्त भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

१० साउन ०७५ मा महेन्द्रनगरमा पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५ दिनपछि प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, मानसिक रोगी रहेका नक्कली अभियुक्तलाई सार्वजनिक गरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । पछि विष्टको डिएनएसमेत नमिलेपछि प्रहरीमाथि सर्वसाधरणको आक्रोश बढेको थियो ।

निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो । निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।