६ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरूले बताए ।

३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय गरेको छैन । बजेटसमेत विनियोजन भएको छैन । सेना खटाउने प्रस्ताव अघि बढाइए पनि त्यसबारे निर्णय भइनसकेको रक्षा मन्त्रालयका प्रवक्ता उत्तमकुमार नागिलाले बताए । निर्वाचनमा सेना खटाउने प्रस्ताव रक्षा मन्त्रालयले तीन साताअघि नै मन्त्रिपरिषद्मा लगेको थियो ।

‘०७० सालको संविधानसभा चुनावमा जसरी सेना खटिएको थियो, त्यही मोडालिटीमा सेना खटिन्छ,’ उनले भने, ‘प्रहरीले हेर्दै आएका कारागार, एयरपोर्टको सुरक्षा प्रहरीले हेर्छ, प्रत्यक्ष रूपमा सेना चुनावमा खटिने होइन ।’ मतदानस्थानको सुरक्षा तथा गस्तीका लागि पनि सेना खटाउने प्रस्ताव छ । सेनासहित तीन घेरा सुरक्षामा चुनाव गर्न लागिएको छ ।

सेना खटाउन सरकारले राष्ट्रपतिबाट अनुमोदन गर्नुपर्छ । तर, अब चार साता मात्र बाँकी रहँदा पनि सरकारले यससम्बन्धी निर्णय नगर्दा अन्योलता छाएको रक्षाका एक अधिकारी बताउँछन् । राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र सेना ब्यारेकबाट निस्कनेछ ।