३० मंसिर, एजेन्सी । बंगलादेशका विदेशमन्त्री डाक्टर एके अब्दुल मोमेनले भारतीय नागरिकहरु बंगालदेशमा उच्च अर्थव्यवस्था र नि:शुल्क खानाका लागि आउने गरेको टिप्पणी गरेका छन् ।

दुई देशबीचको सम्बन्ध सुमधुर र वृहत रहेको भन्दै उनले यस्तो टिप्पणी गर्न भ्याए । हाम्रो स्थिती धेरै राम्रो छ । हाम्रो अर्थव्यवस्थाको स्थिती पनि बलियो छ । जो यहाँ आइरहेका छन् उनीहरुले रोजगारी पनि पाइरहेका छन् । मन्त्री मोमेनले भने, ‘यहाँ सिमान्तकृत नागरिकका लागि निःशुल्क खान दिइन्छ । त्यसैले भारतीय नागरिकहरु बंगलादेश आइरहेका छन् ।’

मोमेनले अवैध रुपमा बंगलादेशमा बसिरहेका भारतीय नागरिकलाई फिर्ता पठाइने पनि बताए । भारतीय बंगालदेशमा अवैध रुपमा प्रवेश गरिरहेका छन् नि ? भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो जवाफ दिएका बीबीसीले उल्लेख गरेको छ । ‘भारतको तुलनामा हाम्रो अर्थव्यवस्था राम्रो छ । भारतमा रोजगारी नपाएकाहरु यहाँ आइरहेका छन् ।’ मन्त्री मोमेनले भने, ‘केही विचौलियाले भारतका गरिब नागरिकलाई बंगलादेशमा निःशुल्क खानेकुरा पाइन्छ भन्दै ल्याउने गरेका छन् ।’

विदेश मन्त्री मोमेनले कुनै पनि बंगलादेशी अवैध रुपमा भारतमा बसोबास गरिरहेको भए फिर्ता बोलाउन तयार रहेको जानकारी भारतलाई दिइसकेको पनि बताए । उनले यस विषयमा भारतीय उच्चायुक्तसँग ढाकामै द्वीपक्षीय मुद्दामा कुराकानीसमेत गरिसकेका छन् ।