१४ कात्तिक, काठमाडौं । ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता भीम रावल पुगेर फर्किएलगत्तै नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । अहिले उहाँको स्वास्थ्यस्थिति सामान्य छ,’ अध्यक्ष प्रचण्डले भने, ‘भर्खरै डायलासिस भएको छ । उहाँ एकछिन रेस्टमा हुनुहुन्छ । केही समयपछि डिस्चार्ज गर्ने तयारी छ ।’डायलासिस कहिलेसम्म गर्नुपर्ने भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘अहिले नै केही भन्न सकिन्न । भोलिसम्मको स्थिति हेरेर पुनः डायलासिस पनि गर्नुपर्ने हुनसक्छ । नियमित भन्ने अहिलेसम्म फिक्स छैन ।’ यसअघि उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेलले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।

अहिले प्रधानमन्त्री ओलीको डायलासिस सकिएको छ । मृगौलामा समस्या आएपछि प्रधानमन्त्री ओली हिजो बुधबार ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । अस्पतालले उनको स्वास्थ्यबारे विस्तृत जानकारी दिएको छैन । प्रधानमन्त्रीको सचिवालयले पनि अवस्था सामान्य रहेको र आजै डिस्चार्ज हुनेबाहेक उहाँलाई भएको के हो ? र उपचार के भइरहेको छ भन्ने खुलाएको छैन ।