काठमाडौं, २१ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले पार्टीका ७७ वटै जिल्लाका इन्चार्ज तोक्ने छ ।

त्यसका लागि विहान नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच अनौपचारिक छलफल भएको थियो । केन्द्रीय सदस्यको कार्यविभाजन, विभागहरु गठन लगायतका विषयमा पनि बैठकमा छलफल हुने सचिवालय सदस्य एवं पार्टीका बरिष्ठ नेता झलनाथ खनालले बताए ।

स्रोतका अनुसार पोलिटब्युरो गठन प्रक्रिया भने तत्काल नटुंगिने देखिएको छ । आकांक्षी धेरै भएपछि पोलिट्ब्युरो गठनको टुंगो लगाउन नेताहरु असफल भएका हुन् ।